एमाले ‘हाई कमान्ड’ प्रदेश २ मा केन्द्रित
काठमाडौं । आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरू तराईको प्रदेश २ मा केन्द्रित हुने भएका छन् । प्रदेश २ का आठ जिल्लामा हुने निर्वाचनमा पनि पहिलो दलको रूपमा स्थापित हुने योजनाका साथ ओलीसहितका शीर्ष नेताहरू तराई केन्द्रित हुन लागेका हुन् ।
वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चुनावी तयारी अभियानकै सिलसिलामा सोमबार पर्साको वीरगन्ज पुगेका छन् । बारा, पर्सा र रौतहटका विभिन्न चुनावी कार्यक्रममा सहभागी भई नेपाल बुधबार बेलुकी काठमाडौं फर्किनेछन् । पहिलो र दोस्रो चरणको चुनावमा देखिएको केही असन्तुष्टिसमेतलाई ध्यान दिई उम्मेदवार चयनअघि स्थलगत अनुगमन गर्न महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल सचिवहरू प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, पृथ्वीसुब्वा गुरुङ, योगेश भट्टराई र भीम आचार्य पनि केही दिनभित्रै आठ जिल्ला पुग्दै छन् ।
एमाले केन्द्रीय सचिवालयका अनुसार महासचिव पोखरेल पर्सा, उपमहासचिव पौडेल बारा, भुसाल रौतहट खटिँदै छन् । त्यसैगरी सचिव विष्ट सर्लाही, भट्टराई धनुषा, आचार्य सप्तरी खटिनेछन् भने अन्य जिल्लामा ज्ञवाली र गुरुङले जिम्मेवारी सम्हाल्ने बताइएको छ । नेताहरूले स्थलगत अनुगमनका क्रममा जिल्लामा रहेका सबै स्थानीय तहको वस्तुगत अबस्था, पार्टीको पोजिसन, तालमेलको सम्भावना, टिकट दिँदा ध्यान दिइनुपर्ने पक्षलगायत सुक्ष्म अध्ययन गरी प्रतिवेदन तयार पार्ने बताइएको छ । करिब डेढ साताको अध्ययन अवलोकनपछि मात्रै प्रदेश २ मा टिकटबारे निर्णय लिने नीति एमालेले लिएको छ । कतिपय स्थानमा अन्य पार्टीबाट प्रवेश गराएर टिकट दिने नीति एमालेले लिएको छ ।
यसपछि अध्यक्ष ओलीसहित तीन शीर्ष नेताहरू नेपाल र झलनाथ खनालकै कमान्डमा २ भदौबाट तीनवटा समानान्तर केन्द्रीय कार्यालय सञ्चालन गरी चुनाव परिचालन गर्ने एमालेले योजना बनाएको छ । जनकपुर, सिरहा र र बीरगञ्जमा केन्द्रीय कार्यालय सरहकै कार्यालय स्थापना गर्ने र कार्यालयमा वरिष्ठ नेताहरू नै रहने केन्द्रीय सचिवालयले निर्णय गरेको हो ।
‘भदौबाट साविकको नारायणी, जनकपुर र सगरमाथालाई केन्द्र बनाएर केन्द्रीय कार्यालय सरहकै कार्यालय सञ्चालन गरिने छ, पार्टीका शीर्ष नेताहरूले तिनै कार्यालयबाट प्रदेश २ को चुनावलाई हाँक्नुहुनेछ,’ एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने । स्रोतका अनुसार नेपालले नारायणी, खनाल र पोखरेलले जनकपुर र ओलीले सगरमाथाको समानान्तर कार्यालय सम्हाल्नेछन् ।
चुनावको अवधिमा एमालेले तराई–मधेसमा विकास हुन नदिने नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसकेन्द्रित दलको षड्यन्त्रसमेत भण्डाफोर गर्दै जनतालाई सचेत पार्ने योजना बनाएको छ । तराईमा अहिलेसम्म पार्टीले गरेको विकास निर्माणका कामलाई तीव्र प्रचार गर्ने, संविधान संशोधनका विषयमा चलाइएको भ्रमको भण्डाफोर गर्दै आवश्यकता र औचित्यका आधारमा संशोधनका लागि तयार रहेको सन्देशसहित मधेस समस्या समाधानको ‘रोडम्याप’समेत प्रस्तुत गर्ने एमालेको तयारी छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply