यसरी तहसनहस पारियो साझा भण्डार
काठमाडौं । केही व्यक्तिका नांगो रजाइँका कारण धेरै पुरानो र व्यावसायिक सफलताको शिखरमा पुगेको साझा भण्डार सहकारी संस्था लिमिटेड तहसनहस हुन पुगेको छ । सिमेन्ट, भन्सारका जफत सामानदेखि लिएर पेट्रोल पम्पसमेत चलाइरहेको एक जमानामा चर्चित भोटाहिटीस्थित उक्त संस्थाले कुनै बेला करिब तीन सय कर्मचारीलाई रोजगारी दिने गरेको थियो । तर अहिले संस्थालाई टाट पल्टाइसकेपछि जम्मा पाँच कर्मचारीको भरमा उक्त संस्था जीवनमरणको दोसाँधमा रहेको छ ।
उक्त संस्थामा लामो समय एकै व्यक्ति जयकुमार खड्का अध्यक्ष रहे । उक्त संस्थामा वर्षांैदेखि अमर थापा महाप्रबन्धक रहेका छन् । खड्का र थापाकै कारण संस्थालाई धराशायी स्थितिमा पु¥याइएको बताइन्छ । राष्ट्रिय सहकारी विकास बोर्ड, नेसनल टे«ेडिङ, खाद्य संस्थानलगायत र आमसर्वसाधारण तथा कर्मचारीहरूको समेत सेयर रहेको उक्त संस्थालाई पछिल्लो समय भएभरको सम्पत्तिसमेत बेचेर पनि चल्नैसमेत गाह्रो हुने पारिएको छ । लामो समय एकलौटी ढंगले पारिवारिक क्लबजस्तो बनाएर अध्यक्ष खड्काले संस्था चलाएपछि धेरै विवाद आएको थियो । उक्त विवाद केही मत्थर पार्ने अभिप्रायले उनै खड्काले आफूले संस्था छोडेर आफ्नै ‘एसमेन’ केशव घिमिरेलाई अध्यक्ष बनाइदिए । तर घिमिरेले पनि खड्काकै शैलीले काम गरेको र उक्त संस्थामा लेखा अधिकृतको हैसियतमा छिरेर हाल महाप्रबन्धकका रूपमा काम गरिरहेका अमर थापाकै नालायकी र हुकुमी शैलीले संस्था सुध्रिन नसकेको कर्मचारीहरूको आरोप छ ।
संस्था कि पारिवारिक क्लब ?
लामो समय संस्थामा राइदाइँ गर्दा कर्मचारीसम्बन्धी कुन नियमावली नै कार्यान्वयन गरेनन् । आफन्त र आफ्ना मान्छेहरूलाई जतिबेला पनि भर्ती गरेर कामै नगरी तलब खुवाउने वातावरण बनाए । उनले आफ्नो परिवारका त प्रायः सबैलाई जागिर खुवाएका थिए । त्यसैले लामो समय उक्त संस्था ‘संस्थाभन्दा पनि पारिवारिक क्लब’का रूपमा रहेको आरोप लागेको छ । हुन पनि सो संस्थामा खड्काले आफ्नो तीनवटै छोरा, बुहारी, साली, भान्जीबुहारी र घरमा पूजा गर्ने पुजारीको श्रीमतीसमेतलाई जागिर लगाएर कामै नगरी तलब खुवाइरहेका थिए ।
जयकुमारका तीनवटै छोरा प्रमोद, प्रदीप र प्रवीणमध्ये केहीलाई सल्लाहकारका रूपमा त केहीलाई अधिकृतका रूपमा करिब १५ वर्षजति जागिर खुवाइएको थियो भने बुहारी सुस्मिता खड्कालाई सिधै सहायक प्रथम तहमा जागिर लगाइएको थियो । त्यति मात्र होइन, साली गीता बस्नेत सहायक प्रथम तहमा, भान्जी बुहारी लक्ष्मी उप्रेती सुब्बा तहमा र आफ्नै पुजारीको स्मृति सीता आचार्यलाई पियन तहमा जागिर खुवाएका थिए । संस्थाको हालत तहसनहस भइसकेकाले त्यसमध्ये अहिले नगण्य मात्रामा मात्र कर्मचारीहरू रहेको बताइन्छ ।
संस्थाको पैसा व्यक्तिद्वारा अपचलन
विगतमा संस्थाका रकम अध्यक्ष खड्का र महाप्रबन्धक थापाले मनपरी ढंगले चलाएर विभिन्न निजी काममा प्रयोग गर्ने गरेको खुलेको छ । उनीहरूले बैंक अफ काठमान्डुमा संस्थाको नाममा रहेको १ नम्बर खाता भनिने खाता नम्बर ०६–४९१३८ बाट दुईपटक गरी १५ लाख रूपैयाँ निकालेको भेटिएको छ । आफ्नो मात्र हस्ताक्षर चल्ने गरेको सो खाताबाट उनीहरूले संस्थाको आर्थिक प्रशासन शाखाका सहायक स्तरका कर्मचारी सानुभाइ श्रेष्ठ र अधिकृत स्तरका कर्मचारी रमेश थापाको नाममा चेक काट्न लगाई भुक्तानी लिएको बैंक स्टेटमेन्टका आधारमा पुष्टि भएको छ । सो रकम उनीहरूले अन्यत्र सेयर हाल्न प्रयोग गरेको थाहा भएको छ । उदयपुर सिमेन्ट खरिद गर्ने प्रयोजनको निम्ति भन्दै झूटो भौचर उठाउन लगाई सो रकम लिएकोमा २०७३ असोज १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्तासमेत भएको थियो । अख्तियार टोलीले संस्थामा छापा मारी कागजात जफत गरे पनि अन्त्यमा केही कारबाही नगरी उनीहरूलाई रकमको सेटिङ र भनसुनकै भरमा मुद्दा तामेलीमा राखेको बुझिएको छ ।
सम्पत्ति पनि स्वाहा
संस्थाको नाममा धेरै जग्गाजमिन रहेकोमा अहिले ती सबै कौडीको भाउमा बेचेर कंगाल पारेको र अध्यक्ष खड्का र महाप्रबन्धक थापाले ब्याकडोरबाट पर्याप्त रकम खाएको साझा भण्डार स्रोतले बतायो ।
कोहलपुरमा रहेको जग्गा त्यतिबेलाकै भाउमा पनि कम्तीमा ६ करोड पर्नेमा जम्मा २०६८ सालमा ७१ लाखमा बिक्री गरिएको थियो । त्यस्तै सुर्खेतमा रहेको जग्गा पनि त्यतिबेलै बेचिएको थियो । त्यस्तो घाटामा गएको संस्थामा अहिले अध्यक्षले मासिक ५१ हजार तलब लिने गरेका छन् भने महाप्रबन्धकले विशिष्ट श्रेणीका कर्मचारीसरहको सुविधा लिने गरेका छन् । त्यस्तै प्रत्येक सञ्चालक सदस्यले मासिक १४ हजार तलब र अन्य भत्ता लिने गरेको बताइन्छ ।
अहिले कोको छन् संस्थाको नेतृत्वमा ?
करिब २० वर्ष संस्थाको अध्यक्ष रहेका जयकुमार खड्काले छोडेपछि उनकै उत्तराधिकारीका रूपमा केशव घिमिरेलाई अध्यक्षका रूपमा राखिएको छ । त्यस्तै सञ्चालक समितिमा नन्दकिशोर बस्नेत, सञ्जयचन्द्र बस्नेत, कुमुद ढुंगाना, मञ्जु घिमिरे र राजेन्द्र थापा रहेका छन् । त्यसमध्ये मञ्जु अध्यक्ष केशवकै भतिजी रहेको बताइएको छ । राजेन्द्र थापा पनि संदिग्ध व्यापारी तथा विभिन्न कारोबारी रामेश्वर थापाको भतिजो रहेको बुझिएको छ ।
आधा दर्जन कर्मचारी ठाडो अवकाश
विगत १६–१७ महिनासम्म पनि संस्थामा काम गर्ने कर्मचारीहरूलाई तलबभत्तासमेत दिन सकेको अवस्था छैन । तर आफूविरुद्ध आवाज उठाएको र कर्मचारीहरूको ट्रेड युनियन खोलेको आरोप लगाउँदै संस्थाबाट निष्कासित गर्ने, सरुवा गर्ने, धाकधम्की लगाएर कर्मचारीहरूलाई मानसिक यातना दिँदै आएको उनीहरूको गुनासो छ । त्यति मात्र होइन, संस्थामा सुशासन कायम होस् भनी महाप्रबन्धकसँग वार्ता गर्न खोज्दा भाग्ने, शान्तिपूर्ण विरोध गर्दा पनि प्रहरी प्रशासन लगाएर ताल्चा फोड्ने र लखेट्ने काम गरेको उनीहरूको आरोप छ । उनीहरूले साझा भण्डार सहकारी संस्था लिमिटेड कर्मचारी संगठन खोलेपछि संस्थाका कर्मचारी तथा संगठनका पदाधिकारी अजयकुमार झा, तारा शाक्य, नितु शाह, मीना कुमारी र राजु श्रेष्ठलाई संगठनमा आबद्ध भएको भन्दै छानीछानी अवकाशपत्र दिएको बताइन्छ ।
त्यसैगरी प्रभात पौडेल, सुभद्रा मगर, रविन राजवाहक, राजु श्रेष्ठ, दामोदर बराललगायतलाई बर्खास्त गरिएको थियो भने अनेक मानसिक यातना दिएपछि चोराज कोइरालाले राजीनामा दिएका थिए ।
सहकारी बोर्डको निर्देशन टेरेनन्
त्यसो त संस्थाले सहकारी विभागले दिएको नर्देशसमेत अझै अटेर गरिरहेको बताइन्छ । विभागले २०६८ चैत २८ मा नै संस्थालाई पाँचबुँदे निर्देशन दिँदै विभिन्न निर्देशन दिएको थियो । सर्वसाधारणलाई सुलभ र गुणस्तरीय रूपमा उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले २०२१ सालमा साझाको केन्द्र तथा हालको राष्ट्रिय सहकारी विकास बोर्डद्वारा यो संस्थाको प्रवद्र्धन गरिएको हो । अहिले पनि ५७ प्रतिशत सेयर बोर्डकै रहेको छ । तर नेपालगन्ज, धनगढी, चितवन, झापा, वीरगन्जलगायतका स्थानमा साझा भण्डारले उपयोग गर्दै आइरहेको जग्गाजमिन स्वायत्त भन्दै विनाजानकारी बेचबिखन गरिएकोमा बोर्डका सहअध्यक्ष सरोजकुमार शर्माले पत्र पठाएर आपत्ति जनाएका छन् । २०६५ सालयता साधारण सभा र वार्षिक लेखापरीक्षण समेत नभएकोमा संस्थाको विभागद्वारा कडा छानबिन गर्न माग गरिएको छ । भण्डारलाई पठाइएको पत्रमा ‘नेपाल सरकार र नेपाल सरकारको मातहतका संस्थाद्वारा थुप्रै भौतिक सम्पत्ति र सेयर पुँजी प्रदान गरी स्थापना गरिएको यो संस्था अहिले अत्यन्त जटिल र नाजुक अवस्था आइपुगेको छ । व्यवस्थापन तहसनहस पारिएको छ ।’
बेथितिले भद्रगोल भएको संस्थालाई सहकारी विभागलगायत अन्य संस्थाहरूले कारबाहीमा ध्यान नदिनुलाई रहस्यमय रूपमा हेरिएको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply