किन गले गोपालमान ?
काठमाडौं । कारबाही गरी तत्काल हटाउनुपर्ने मानिसलाई उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ स्वयं संरक्षण दिन अग्रसर भएपछि उनको चौतर्फी आलोचना बढेको छ । साझा प्रकाशनका विवादास्पद अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालगायत मनोनीत सञ्चालकहरूलाई तत्काल हटाउन आफूद्वारा गठित समितिले दिएको सुझावलाई लत्याउँदै अचेल मन्त्री श्रेष्ठ नै शर्मालगायत विवादास्पद सञ्चालकहरूको संरक्षणमा लागेका छन् ।
साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक शर्माले साझाभित्र व्यापक रूपमा अनियमितता गरेका कुरा सार्वजनिक भएपछि मन्त्री श्रेष्ठकै पहलमा मन्त्रालयका उपसचिव गणेश ढकालको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो । उक्त समितिले साझाका अध्यक्षलगायत सञ्चालकहरूलाई बर्खास्त गरेर शिक्षा मन्त्रालयकै सहसचिवको नेतृत्वमा साझा चलाउनुपर्ने सुझाव दिएको थियो । तर, मन्त्री श्रेष्ठले भने बर्खास्त गर्नुपर्ने अध्यक्ष शर्मा र सञ्चालकहरूकै पक्षपोषण गरेका छन् ।
आफूलगायत सिंगो सञ्चालक समिति नै बर्खास्तीमा पर्ने भएपछि अध्यक्ष शर्मा विभिन्न शक्तिकेन्द्रहरू धाएर मन्त्री श्रेष्ठलाई रिझाउन सफल भएको बुझिएको छ । मन्त्रालयले साझाका अध्यक्ष र सञ्चालकहरूलाई बर्खास्त गर्ने तयारी थालेपछि अध्यक्ष शर्माले पूर्वशिक्षामन्त्री चित्रलेखा यादवलाई लिएर मन्त्री श्रेष्ठकहाँ पुगेका थिए । पूर्वमन्त्री यादवले २०७१ सालमा शर्मालाई महाप्रबन्धकमा नियुक्त गरेकी थिइन् । सो भेटमा नेपाली कांग्रेसभित्र एउटै गुटका मानिने पूर्वमन्त्री यादवले मन्त्री श्रेष्ठलाई ‘डोलिन्द्रलगायत सञ्चालकहरूलाई बर्खास्त नगर्न’ आग्रह गरेकी थिइन् । मन्त्री श्रेष्ठले चित्रलेखाले डोलिन्द्रलाई लिएर आफूलाई भेट्न आएको कुरा मन्त्रालयकै कर्मचारीहरूसित स्विकारेको बताइन्छ । उनले मन्त्रालयका कर्मचारीहरूसँग ‘चित्रलेखाजीले नै लिएर आइन् । पार्टीमा आफ्नै समूहका मानिसले लिएर आएपछि भनेअनुरूप गर्नैप¥यो’ भनेर लाचारी व्यक्त गरेको बताइन्छ ।
यसैबीच, विवादास्पद अध्यक्ष शर्माले आफूविरुद्ध अख्तियार, मन्त्रालय र लेखा समिति नलागून् भनेर यो बीचमा राजीनामाको नाटकसमेत गरेको थाहा भएको छ । उनले मनोनीत सञ्चालकहरू दीनानाथ शर्मा, प्रदीप नेपाल र डा. कृष्णहरि बरालसित राजीनामा लिएर राखेको र मन्त्रीसमक्ष राजीनामा नबुझाई राजीनामा दिएको नाटक गरेका थिए । अध्यक्ष शर्माले राजीनामा खल्ती बोकेर हिँडे पनि मन्त्रीसमक्ष नबुझाएको र मिडियामा चाहिँ राजीनामा दिएको हल्ला चलाउँदै हिँडेका थिए ।
अहिले अध्यक्ष शर्माले आफूले दिएको राजीनामा मन्त्रीले स्वीकृत नगरेको भन्दै साझाको काममा पुनः फर्किएका छन् । उनले साउन ९ गते नै आफू र अरू सञ्चालकहरूको राजीनामा मन्त्रीलाई बुझाएको बताउँदै आएका थिए । तर, यी सबै अध्यक्ष शर्माले नाटक गरेको बताइन्छ । अध्यक्ष शर्मालाई कारबाही गर्न अग्रसरता देखाएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग र लेखा समितिले पनि अहिले भने मौनता देखाइरहेका छन् । शिक्षा मन्त्रालयले त छानबिन समितिको सुझावलाई लत्याउँदै अध्यक्ष शर्मालगायत सञ्चालक समितिलाई उन्मुक्ति दिन पुगेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply