मन्त्रीले नमान्दा बिदा लिएर विदेशतिर
काठमाडौं । प्रधानमन्त्रीको निर्देशनलाई उल्लंघन गर्दै र मन्त्रीको आदेशलाई समेत अवज्ञा गर्दै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कर्मचारीहरू पछिल्लो समय धमाधम विदेश भ्रमणमा गएका छन् । नार्कको निमित्त प्रमुख कार्यकारी–निर्देशक डा. वैद्यनाथ महतोले त मन्त्रीको आदेशलाई टेरपुच्छर नलगाई बिदा लिएरै भए पनि विदेश घुम्ने आफ्नो इच्छालाई पूरा गरेका छन् ।
नार्कका निमित्त कार्यकारी–निर्देशक डा. महतो मन्त्रीको आदेशलाई लत्याउँदै केही दिनयता मोरक्कोको भ्रमणमा निस्किएका हुन् । मोरक्कोमा हुने एक अन्तर्राष्ट्रिय गोष्ठीका लागि निमन्त्रणा आएपछि डा. महतो काज मिलाउन कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयमा पुगेका थिए । उनले मन्त्री चक्रपाणि खनालबाट काज स्वीकृत गराउन प्रयत्न गरेका थिए । तर, मन्त्री खनालले कर्मचारीहरूको विदेश भ्रमणमा रोक लगाउन प्रधानमन्त्रीकै निर्देशन रहेको जनाउँदै उनलाई काज दिन मानेनन् । मन्त्रीले काज स्वीकृत नगरेपछि डा. महतोले आफ्नै कार्यालयमा एक हप्ताका लागि बिदा स्वीकृत गराउन पुगे । अहिले उनी बिदा लिएर मोरक्कोको भ्रमणमा निस्किएका छन् ।
डा. महतो सरकारी कोटामा आएको विदेश भ्रमणको सिटमा काज नमिलेपछि बिदा लिएरै भए पनि गएका हुन् । सरकारी कोटाको सिटमा व्यक्तिगत रूपमा बिदा लिएर डा. महतो विदेश भ्रमणमा गएपछि अहिले नार्कभित्र उनको तीव्र आलोचना हुन थालेको छ । नार्कका एक वरिष्ठ वैज्ञानिकले भने, ‘यो सर्वथा गलत कार्य हो । सरकारी कोटामा उनी व्यक्तिगत रूपले जानुहुँदैनथ्यो । नार्कको तर्फबाट ईडीले प्रतिनिधित्व नगरेको हुँदा उनको भ्रमणलाई व्यक्तिगत भन्ने कि संस्थागत भन्नेमा प्रश्न उठ्न पुगेको छ ।’
विदेश भ्रमण भनेपछि अत्यन्तै लालायित रहने डा. महतोले व्यक्तिगत कारण देखाएर एक हप्ताका लागि बिदा लिएका थिए । नार्कका मुख्य वैज्ञानिक टेकबहादुर गुरुङलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएर डा. महतो मोरक्कोतिर लागेका हुन् । तर, उनीसँगै मोरक्को गएका अरु चार कर्मचारीको भने चाहिँ मन्त्रालयले काज स्वीकृत गरेको छ । काज स्वीकृत भएर मोरक्को जाने कर्मचारीहरूमा वरिष्ठ वैज्ञानिकहरू डा. धु्रव थापा, शेखरमण उपाध्याय र सुरज वैद्य र वैज्ञानिक चेतना मानन्धर रहेका छन् ।
डा. महतो नार्कको निमित्त कार्यकारी निर्देशक भएको ७–८ महिना मात्र पुगेको छ । तर, उनी महिनामा दुईपटकभन्दा बढी नै विदेश भ्रमण गर्दै आएका छन् । नार्कका लागि आएको वैदेशिक भ्रमणको निम्तोमा उनी आफैं जाने गरेका छन् । विदेश भ्रमणको निम्तो आउनेबित्तिकै अरू कर्मचारीलाई पन्छाएर आफू नै जाने गरेका कारण अरू कर्मचारीहरू उनीप्रति असन्तुष्ट रहँदै आएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply