राष्ट्रपतिको सचिवालयमा विज्ञहरूको खोजी प्याकुरेललाई पाँच वर्षको निरन्तरता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पदभार सम्हालेको करिब दुई महिनासम्म पनि सचिवालय र विज्ञ समूहले पूर्णता पाएको छैन । प्रधानमन्त्री केपी ओलीले सुशासनको नीतिअनुसार चुस्त र मितव्ययी सचिवालय समूह बनाएपछि राष्ट्रपति भण्डारीमाथि पनि त्यस्तै समूह निर्माण गर्नुपर्ने दबाब छ । यही दबाबका कारण उनले अहिलेसम्म सचिवालयलाई पूर्णता दिएकी छैनन् । अघिल्लो कार्यकालमा काम गरेका विज्ञ र सचिवालय समूहका एक दर्जन जति बिदाइ भइसकेका छन् । तथापि, अघिल्लो कार्यकालमा राम्रो काम गर्ने केहीलाई भने पुनः निरन्तरता दिइएको छ ।
पाँचवर्षे कार्यकालका लागि स्वकीय सचिवमा भेषराज अधिकारीलाई पुनर्नियुक्ति दिइएको छ । राष्ट्रपतिको अत्यन्त निकट रहेर कार्यसम्पादन गर्दै आएका अधिकारीले दैनिक कामकाजका लागि सचिवालयको कामको कमान्ड सम्हाल्नेछन् । त्यस्तै, उनको मातहतमा जनसम्पर्क हेर्ने गरी स्वकीय सहसचिवमा शिव भट्टराई र स्वकीय उपसचिवमा दीपा शर्माले निरन्तरता पाएका छन् । दुवैले राम्रो कार्यसम्पादन गर्दै आएको मूल्यांकनका आधारमा निरन्तरता दिइएको राष्ट्रपति निकट स्रोतले जनाएको छ । भट्टराईले राष्ट्रपतिमा नियुक्ति हुनुअघि पनि तत्कालीन एमाले उपाध्यक्ष विद्या भण्डारीको सचिवालय हेर्थे । शर्माले राष्ट्रपतिको आन्तरिक काममा पनि सघाउँदै आएकी छन् ।
उता, यसअघि सचिवालयमै स्वकीय सहसचिवमा नियुक्त जिवच्छ साह र नवराज गौतमलाई भने बिदा दिइएको छ । विज्ञ समूहमा राजनीति, सामाजिक र मानवअधिकारलगायतका मामिलामा सल्लाह दिँदै आएका विज्ञ सुशील प्याकुरेललाई पुनर्नियुक्ति दिइएको छ । उनीबाहेक अहिलेसम्म राष्ट्रपतिले कसैलाई पनि विज्ञ नियुक्ति गरिसकेकी छैनन् । यसअघि सञ्चार संयोजनको काम हेर्दै आएका वरिष्ठ पत्रकार माधव शर्मालाई पनि बिदाइ दिइएको छ । ठूला मिडिया र राष्ट्रपति कार्यालय बिट हेर्ने पत्रकारहरूसँग राम्रो समन्वय गर्न नसकेको, राष्ट्रपतिलाई ‘बिट’ हेर्ने पत्रकारहरूलाई समेत भेटघाट गराउन नसकेकोलगायतका आरोप उनीमाथि लाग्दै आएको थियो । पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रेस सल्लाहकार राजेन्द्र दाहालकै उचाइको व्यक्तित्व खोजी हुँदा तत्कालीन एमाले अध्यक्ष केपी ओलीसमेतको रुचिमा शर्मा राष्ट्रपतिको सञ्चार संयोजक भएका थिए । तर, उमेरले परिपक्व भए पनि शर्माले दाहालको स्तरमा २५ प्रतिशत पनि काम सम्पन्न गर्न नसकेको पत्रकारहरूले चर्चा गर्दै आएका थिए । अहिले उनको स्थानमा ‘जुनियर’ तहकै कामकाजी व्यक्तिलाई मिडिया संयोजनको जिम्मेवारी दिने कि लामो समय पत्रकारिता गरेर उचाइ बनाएको व्यक्तित्वलाई ल्याउनेबारे अनौपचारिक तहमा कुराकानी भइरहेको बुझिएको छ । राष्ट्रपति कार्यालयमा सञ्चारकर्मीहरूलाई बोलाएर अनौपचारिक भेटघाट नगराएकोमा असन्तुष्ट राष्ट्रपति भण्डारीले केही हप्ताअघि एक निकटस्थ पत्रकारलाई बोलाएर कोको बिट हेर्छन्, कस्तासँग सम्पर्कमा रहनुपर्छ भन्दै गोप्य परामर्शसमेत गरेकी थिइन् ।
त्यस्तै, केही अधिकृतको पनि नियुक्ति भएको छ । अघिल्लो पटक फोटोग्राफर रहेका सुनिल बज्राचार्यले सोही पदमा पुनर्नियुक्ति पाएका छन् । त्यस्तै, गीता शर्मा र हरिबहादुर चन्दले पनि अधिकृतमा नियुक्ति पाएका छन् । उनीहरू दुवै नयाँ अनुहार हुन् । स्रोतका अनुसार अघिल्लोपटक अधिकृत तहमा नियुक्त भएकी युवासंघ नेपालमा आबद्ध भक्तपुरकी एक कार्यकर्तालाई भने बिदाइ गरिएको छ । उनको भूमिकाप्रति सन्तुष्ट नरहेकी राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रपति कार्यालयसँग जोडिने गरी विभिन्न कुरा पुगेको र शंकास्पद भूमिका रहेको भन्दै यसपटक नियुक्त नगरिएको स्रोतको भनाइ छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply