२१ भाइलाई तीन घण्टा राखेर के भने वामदेवले ?
काठमाडौं । वामदेव गौतम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता हुन् । पार्टी र राजकीय मामिलामा ‘सेकेन्ड म्यान’ बनिसकेका गौतम आफूले महसुस गरेका कुरा जस्ताको तस्तै सार्वजनिक गर्ने हक्की स्वभावका कारण बेलाबेला चर्चामा आइरहन्छन् ।
पार्टी एकताका लागि अथक मिहिनेत गरेका नेता गौतम कम्युनिस्टको दुई तिहाइ बहुमतको ऐतिहासिक उपलब्धि हासिल गर्दा बर्दियाबाट पराजित होलान् भन्ने सायदै कल्पना गरिएको थियो । चुनाव हारेको भन्दा पनि सुनियोजित रूपमा हराइएको करिबकरिब पुष्टि भइसकेपछि गौतमले पार्टी निर्णयअनुसार कुनै एउटा क्षेत्रमा चुनाव लडेर संसद्मा आउने प्रयास जारी राखे । तर, त्यो प्रयास प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारकै कारण असफल भएको र नजिकबाट विश्वास गरिएका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि धोका दिएको महसुस गरेपछि गौतम अहिले पार्टीका केन्द्रीय नेताहरूसँग खुलेर अन्तरकुन्तरका पीडा ओकेल्न थालेका छन् । शक्तिशाली विकास प्राधिकरणमार्फत मुलुकको समृद्धि र विकासको अगुवाइ गर्ने तीव्र इच्छा पनि ओली र प्रचण्डकै कारण ‘ब्रेक’ लागेको निष्कर्षमा पुगेका गौतम दुवै अध्यक्ष पार्टीलाई सही ढंगले नेतृत्व गर्न असफल भएको निष्कर्षमा पुगेका छन् ।
गत ९ गते आफ्नो निवासमा भेला भएका केही केन्द्रीय सदस्यहरूको समूहसँग लामो पृष्ठभूमि बाँधेर करिब तीन घण्टा अन्तक्र्रिया गरेका गौतमले नवौं महाधिवेशनयता लगातार ओलीलाई साथ दिएकोमा प्रायश्चित मात्र गरेनन्, प्रचण्ड पनि फौजी मोर्चाबाट नेतृत्वमा आएकाले विधि, प्रक्रिया र पद्धतिअनुसार पार्टी सञ्चालन गर्ने अनुभवको कमीले असफल भएको टिप्पणी गर्नसमेत भ्याए । अध्यक्षद्वय ओली र प्रचण्डको पार्टी र सरकार सञ्चालनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ज्ञापनपत्र बुझाउने समूहका नेताहरू गौतमलाई भेट्न दिउँसो भैंसीपाटी पुगेका थिए । असन्तुष्ट केन्द्रीय सदस्यहरूका तर्फबाट डा. विजय पौडेल, जगन्नाथ खतिवडा, ठाकुर गैरे, माधव अर्याल, भाष्कर काफ्ले, सुरेन्द्र मानन्धर, हरिबहादुर राई, गरिमा शाह, ममता गिरी, रामकुमारी झाँक्रीलगायत आफ्ना मागमा समर्थन खोज्दै निवासमै पुगेर गौतमलाई भेटेका थिए । अध्यक्ष ओलीले ज्ञापनपत्र बुझाउने केन्द्रीय सदस्यहरूले ज्ञापनपत्र बाहिर सार्वजनिक गरेर अनुशासनहीन काम गरेको भन्दै कारबाहीको प्रसंग बैठकमा उठाउँदा गौतमले बचाउ गरेका थिए । यो जानकारी पाएका केन्द्रीय सदस्यहरू उनको समर्थन लिन निवास पुगेका थिए । उनीहरूसँगको अन्तक्र्रियामा गौतमले असन्तुष्टहरूको मागमा समर्थन मात्र जनाएनन्, आफूले पार्टीभित्रको विकृति अन्त्यका लागि छिट्टै छुट्टै अभियान सञ्चालन गर्ने प्रस्ट संकेत गर्दै त्यस्तो शुद्धीकरण अभियानमा साथ दिन आग्रहसमेत गरे ।
‘प्रचण्डजी लामो समय युद्धकालीन सैन्य संरचनाको नेतृत्व गरेर पार्टी प्रमुख बन्नुभयो, लामो जेल बसाइबाट खुला राजनीतिमा आएपछि केपीजीले निरन्तर एउटा कित्तामा उभिएर गुट चलाउनुभयो, त्यही गुटको राजनीतिलाई नै राजनीतिक अभियानको नेतृत्व गरेको ठानेर मेरो पनि समर्थनमा अध्यक्ष बन्नुभयो,’ लामो अन्तक्र्रियामा गौतमका भनाइ उद्धृत गर्दै एक नेताले बुधबार साप्ताहिकसँग भने, ‘तलका संगठनहरूको संवेदनशीलता, आमकार्यकर्ताको भावना बुझ्नेभन्दा पनि दुवै अध्यक्षमा आदेश र निर्देशनहरूको कार्यान्वयन गराउनुपर्छ भन्ने अनुभव मात्र छ, त्यसैले राजनीतिक र वैचारिक नेता भएर पनि उहाँहरू सांगठनिक अनुभवसहितको प्रमुख नेता बन्न सक्नुभएन, पार्टी एकीकरणमा पनि ढिलाइ हुँदै गयो, विधि, प्रक्रिया र पद्धति पनि कमजोर बन्यो, पार्टी लथालिंग अवस्थामा पुग्यो ।’ त्यति मात्र होइन, गौतमले आफूले ओलीलाई धेरै विश्वास गरेर साथ दिनु नै ठूलो राजनीतिक भूल भएको भन्दै प्रायश्चितसमेत गरेका थिए ।
असन्तुष्टहरूलाई वामदेवको समर्थन
केन्द्रीय सदस्यहरूसँगको अन्तक्र्रियामा उनीहरूको मागप्रति समर्थन जनाउँदै नेता गौतमले सचिवालय र स्थायी समितिको छलफलमा साथ दिने वचनबद्धतासमेत व्यक्त गरेका थिए । ‘उहाँले पार्टीप्रति चिन्ता जाहेर गरेर हामीले बुझाएको ज्ञापनपत्रप्रति समर्थन जनाउँदै एजेन्डाका पक्षमा बैठकमा पनि साथ दिने प्रतिबद्धता जनाउनुभएको छ,’ गौतमलाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘उहाँले पार्टीलाई ठीक ढंगले सञ्चालन गर्न अझ माथिल्लो स्तरमा उठेर सोच्नुपर्ने अवस्था आएकाले पार्टीभित्रै थप बहस र छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’
‘सिन्डिकेट’ शैलीमा पार्टी संचालन हुन सक्दैन’
केन्द्रीय सदस्यहरूसँगको अन्तक्र्रियामा गौतमले पार्टी हितका निम्ति उठाइएका विषयलाई लिएर नेतृत्वले आशंका गर्नु गलत हुने बताएका थिए । उनले ज्ञापनपत्रमा उठाइएका सबै विषयप्रति आफ्नो समर्थन भए पनि केन्द्रीय सचिवालयको तत्काल अधिकार कटौती गर्ने कुरामा भने विमति रहेको बताए ।
‘मूलतः अहिले एकीकरणसम्बन्धी काम सचिवालयले नै गर्ने हो, किनभने यो लिडरहरूको कोर टिम हो, लामो राजनीतिक अनुभव भएका शीर्ष नेताहरूकै सचिवालय बनेपछि अहिले एकीकरणका बेला दैनिक प्रशासनिक काम गर्नुस् भन्न मिल्दैन, तर अहिले सचिवालयले राजनीतिक निर्णय गर्ने भन्दैमा सहमति नलिईकन मनपरी गर्ने, एकले अर्कालाई बेवास्ता गरेर सिण्डिकेटको शैलीमा पार्टी चलाउने कुरा ठीक होइन, अन्तक्र्रिया र छलफलबाटै नीतिगत र महŒवपूर्ण विषयमा निष्कर्षमा पुग्नुपर्छ ।’
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply