नेकपाको युवा संगठनमा नामको विवाद
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संगठन युवा संगठनको नाममा विवाद भएको छ । तत्कालीन एमाओवादीको भ्रातृ संगठन वाईसिएल समूहले जनवर्गीय संगठनको एकता घोषणा कार्यक्रममा सार्वजनिक भएको नाम स्वीकार नगरेपछि विवाद भएको हो ।
गत ३ जेठमा तत्कालीन एमाले पार्टी कार्यालय बल्खुमा जनसंगठन एकीकरण घोषणा कार्यक्रममा युवाहरूको भ्रातृ संगठनको नाम युवा संघ नेपाल तथा संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ र सहसंयोजक रमेश पौडेलको नाम घोषणा भएको थियो । महासचिव विष्णु पौडेलले संघको केन्द्रीय २ सय ५१ सदस्यीय हुने घोषणा गरेका थिए । नेकपाको केन्द्रीय सदस्यसमेत रहेका सापकोटा तत्कालीन वाईसीएलका अध्यक्ष तथा पौडेल युवा संघका अध्यक्ष हुन् ।
सबै जनवर्गीय संगठनको नाम, नेतृत्व र संख्या घोषणा भए पनि युवा संगठनमा भने तत्कालीन वाईसीएल समूहले युवा संघ नेपालको घोषित नाम अस्वीकार गरेको हो । तत्कालीन एमालेको युवा संघ नेपाल समूहले भने महासचिवबाट घोषित नाम नै आधिकारिक भएकाले पार्टी नेतृत्वको निर्णयलाई विधि, प्रक्रियाबाहिर गएर कसैले चुनौती दिन नसक्ने अडान राख्दै आएको छ ।
‘महासचिवले पार्टी निर्णयका आधारमा नाम, नेतृत्व र संख्या घोषणा गरिसकेपछि त्यसैलाई आधिकारिक मान्नुपर्छ, नेतृत्व मान्ने, नामचाहिँ नमान्ने भन्ने तर्कै हुन सक्दैन,’ तत्कालीन युवा संघका महासचिव नरेश शाहीले भने, ‘उहाँहरूले पार्टी महासचिवको सर्कुलरसम्म पर्खौं भने पनि पार्टीले निर्णयका आधारमा घोषणा गरिसकेपछि परिवर्तन हुन्छ भन्ने मलाई लाग्दैन ।’ पूर्ववाईसीएल समूहले भने युवा संगठनका दुवै समूहका तत्कालीन महासचिवसहितको पाँच सदस्यीय कार्यदल र पार्टी एकीकरणका लागि गठित कार्यदलले बुझाएको दुईवटा साझा नामभन्दा फरक नाम घोषणा भएकाले पार्टीको सर्कुलर नआएसम्मका लागि पर्खिनुपर्ने अडान राखेको छ । ‘पार्टी महासचिवले नै यो विषयमा छलफल गरौंला भन्नुभएकाले हामीले सर्कुलर नआएसम्मका लागि संगठनको नाम आधिकारिक रूपमा टुंगिएको नमानेका हौं,’ वाईसीएलका पूर्वमहासचिव सुबोधराज श्रीपाइलीले भने, ‘विधान मस्यौदा कार्यदल र पार्टी एकीकरण कार्यदलले युवा संगठन नेपाल र राष्ट्रिय युवा संगठन नेपालमध्ये जुनसुकै नाम राखे पनि उपयुक्त हुनेगरी प्रतिवेदन बुझाएका थियौं तर त्यसभन्दा फरक नाम घोषणा भएकाले सर्कुलर नआएसम्मका लागि पर्खौं भन्ने मात्र हाम्रो आग्रह हो ।’
विधान मस्यौदा कार्यदलमा तत्कालीन युवा संघका महासचिव शाही र वाईसीएलका महासचिव श्रीपाईलीसहित दुवै तर्फका ३ सचिव थिए । जसअनुसार वाईसीएलले राष्ट्रिय युवा संगठन नेपाल र युवा संघले युवा संगठन नेपालको नाम पार्टी नेतृत्वसमक्ष प्रस्ताव गरेको थियो । युवा संगठनको नेतृत्व पूर्व माओवादी समूहले पाइसकेपछि पनि नामलाई अस्वीकार गर्नु अराजकता हुने पूर्वयुवा संघ समूहको तर्क छ । स्रोतका अनुसार युवा संगठनको नेतृत्व पूर्वमाओवादी समूहका सापकोटालाई दिने विषयमा अध्यक्ष केपी ओली अन्तिम समयसम्म अनिच्छुक थिए । तर, अन्ततः नेतृत्व पाएपछि सापकोटाले संगठनको नाम स्वीकार गर्न आनाकानी गरेर जवाफ फर्काएको हुन सक्ने युवा संघकै पदाधिकारी तहका एक नेता बताउँछन् ।
केन्द्रीय सदस्य अझै छानिएनन्
संगठनको एकतापछि युवा संघ नेपालले अझै केन्द्रीय कमिटी चयन गर्न सकेको छैन । तत्कालीन युवा संघ र वाईसीएलका महासचिव रहेको विधान मस्यौदा उपसमितिले २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी रहनेगरी अन्तरिम विधान संयोजक र सहसंयोजकलाई बुझाएको छ । अन्तरिम विधानअनुसार तत्कालीन युवा संघको २ सय ५६ सदस्यीय तथा वाईसीएलको २ सय १६ सदस्यीयसहित ४ सय ७२ जनाबाट अब युवा संघ नेपालको नयाँ केन्द्रीय कमिटी चुनिनेछ । कार्यदलका संयोजक युवा संघका तत्कालीन महासचिव नरेश शाहीले केन्द्रीय कमिटी सदस्यहरूको नामावली संयोजक र सहसंयोजकलाई नै टुंग्याउन आग्रह गरिएको बताए ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply