मनोवृत्ति सुधारको अपेक्षा
राष्ट्रसेवक कर्मचारीहरूको जीवनयापन सहजताका लागि सरकारले हरेक वर्ष तलब–सुविधामा वृद्धि गर्दै आएको छ । कर्मचारीहरूको मागबमोजिम नै सरकार तलब–सुविधा बढाउन सहमत बन्दै आएको पनि छ । पछिल्ला वर्षहरूमा कर्मचारी वृत्तबाट तलब पुगेन, सुविधा पाइएन भन्ने गुनासा आउन छाडेका छन् र राज्यले कर्मचारीहरूलाई सन्तुष्ट तुल्याएको आभास मिल्दछ । तर, विडम्बना के छ भने जति नै तलब वृद्धि भए पनि र सुविधाका हिसाबले कुनै कमी नभए पनि कर्मचारीहरूले आफूलाई भ्रष्टाचार र अनियमिततामा लिप्त तुल्याउन भने छाडेका छैनन् । हरेक दिन भ्रष्टाचारको आरोपमा कर्मचारीहरू समातिइरहेका छन् र अचेल अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काम नै भ्रष्टाचारमा संलग्न कर्मचारीहरूलाई स्थलगत समात्नमा नै बित्न थालेको छ ।
विदितै छ, कर्मचारीहरू जनताले तिरेको करबाट पालिन्छन् । उनीहरू जनताले तिरेको करबाट पालिएका हुँदा निमेकको सोझो गर्नुपर्ने हो । जनता अर्थात् सेवाग्राहीका काम छिटो, छरितो ढंगले, कुनै आर्थिक लाभ नलिईकन गर्नुपर्ने दायित्व कर्मचारीहरूको हो । तर, कर्मचारीहरू दिनदिनै आफ्नो दायित्व र कर्तव्यबाट च्यूत हुँदै गइरहेको प्रमाण घुस प्रकरणमा कर्मचारीहरू समातिइरहेका घटनाहरूले नै दिन्छ । सेवाग्राहीहरूका काम समयमै नगर्ने र गरे पनि बिना आर्थिक लाभ नगर्ने प्रवृत्ति कर्मचारी वृत्तमा झाँगिइरहेको छ । कर्मचारीहरूमा सेवाग्राहीहरूको काम सेवाका हिसाबले नभई आर्थिक लाभ लिने माध्यमका रूपमा विकास हुँदै गइरहेको छ । आर्थिक लाभ नलिई यताको सिन्का उता नसार्ने प्रवृत्तिले कर्मचारी वृत्तमा भ्रष्टाचारले कति दह्रो रूपमा जह्रा गाड्न पुगेको छ भन्ने कुरा स्वतः पुष्टि हुन्छ ।
कर्मचारी वृत्तलाई सदाचार र नैतिकताको दिशामा अग्रसर तुल्याउने हेतुले केही समयपूर्व एउटा प्रतिज्ञा गर्न लगाइएको थियो, ‘म भ्रष्टाचार गर्दिनँ ।’ हरेक कर्मचारीले एक वाक्यको त्यो कसम खाए । कसम खान कुनै पनि कर्मचारीले नाइँनास्ती गरेनन् । तर, कसमले मात्र भ्रष्टाचार रोकिने रहेनछ, अनियमिततामा कमी आउने रहेनछ भन्ने पुष्टि समयक्रममा देखिन पुगेको छ । हिजोका दिनमा ‘भ्रष्टाचार गर्दिनँ’ भनेर प्रतिज्ञा गर्ने कतिपय कर्मचारीहरू नै आज भ्रष्टाचारको आरोप खेपेर हिरासतमा दिन बिताइरहेका छन्, भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् । ‘भ्रष्टाचार गर्दिनँ’ भन्ने प्रतिज्ञालाई मजाकको रूपमा लिउन्जेल सुधार आउने अपेक्षा गर्नु निरर्थक साबित हुनेछ ।
कर्मचारीहरूले आफ्नो मनोवृत्तिमा सुधार नल्याउन्जेल जस्तोसुकै प्रतिज्ञा गर्न लगाए पनि त्यो सफल र प्रभावकारी ठहरिँदैनन् । गीता छोएर कसम खान लगाए पनि वा आफ्नो आस्थासँग जोडिएका कुनै ईश्वरको मूर्ति छुन लगाएर कसम खान लगाए पनि केही ताŒिवक फरक पर्दैन, जबसम्म कर्मचारी स्वयंले आफ्नो मनोवृत्तिमा परिवर्तन ल्याउन चाहँदैनन् । तथापि, कसम ख्वाउँदैमा मनोवृत्तिमा परिवर्तन हुने कुरा पनि आउँदैन । किनभने, अधिकांश कर्मचारीहरूको ध्याउन्न नै जसरी भए पनि कमाउ अड्डामा सरुवा भएर जानेमा नै केन्द्रित हुन्छ । राम्रो मालपानी आउने अड्डा ताक्ने प्रवृत्तिले कर्मचारी वृत्त थङ्थिलो बनिसकेको छ । अधिकांश कर्मचारी राजनीतिक÷प्रशासनिक पहुँचलाई पछ्याएर र नभए आकर्षक थैली बुझाएरै भए पनि मालदार अड्डामा सरुवा हुन चाहन्छन् । त्यस्ता कर्मचारीहरू आफ्नो लगानी उठाउने नियतद्वारा निर्देशित त हुन्छन् नै, भोलि कस्तो ठाउँमा सरुवा हुने हो, मौका मिलेको बेला आजै कमाइहालौं भन्ने गलत चिन्तनमा डुब्न पुग्छन् र सेवाग्राहीलाई दुहेर कमाउने ध्याउन्नमा आफूलाई निर्लिप्त तुल्याउँछन् ।
यतिखेर देशमा वामपन्थी शक्तिको नेतृत्वमा सरकार सञ्चालित छ । इतिहासमै दुई तिहाइप्राप्त शक्तिशाली सरकार रहेको छ । सरकारले चाह्यो भने तलतलसम्म फैलिएका भ्रष्टाचारको साना–मसिना जराहरूलाई निर्मूल पार्न नसके पनि मूल काण्डसम्मलाई भने काट्न सक्छ । मूल काण्ड काटिएपछि त्यसबाट निःशृत अरू जह्राहरू स्वतः सुक्दै जानेछन् । तर, वर्तमान सरकारमा भ्रष्टाचार अन्त्य गर्ने इच्छाशक्ति पलाए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा भने तत्परता देखिएको पाइँदैन । पछिल्लो समय कर्मचारीहरू भ्रष्टाचारमा झन्झन् लिप्त हुँदै जानुमा उनीहरूले वर्तमान सरकारको नाडी छामेर नै त्यस्ता कर्तुतहरूमा हात हाल्न पुगेको सहजै अनुमान लगाउन सकिन्छ । नभए वामपन्थी शक्तिको नेतृत्वमा गठित शक्तिशाली सरकारसँग भ्रष्टाचारजस्ता अनैतिक, अमर्यादित र अशोभनीय कार्यमा संलग्न हुन चाहने कर्मचारीहरूमा अलिकति भए पनि डर र त्रास हुनुपर्ने हो । कर्मचारीले जसरी र जुन ढंगले, स्वच्छन्द तरिकाले, कुनै डर नलिई भ्रष्टाचार र अनियमितताजन्य कार्यहरूमा आफूलाई सामेल तुल्याइरहेका छन्, त्यो सरकारको कमजोरीसँग जोडिएको विषय हो । सरकारले भ्रष्टाचार र अनियमिततालाई नियन्त्रण गर्न नसकेको दरिलो प्रमाण हो ।
नेपाली समाजमा भ्रष्टाचार क्यान्सरजस्तै फैलिएको छ । यसले राष्ट्र र समाजका हरेक अंगलाई दिनप्रतिदिन क्षतिग्रस्त तुल्याउँदै लगिरहेको छ । समयमै किमो नदिने हो भने यो रोग झन्झन् फैलिँदै जानेमा कुनै आशंका छैन । तर, किमो दिनेहरू नै उदासीन देखिन्छन् । यस्तो अवस्थामा कसरी रोग नियन्त्रण वा निको हुन सक्छ ?
सम्बन्धित समाचार
-
ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
-
आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply