सभापति लम्ब्याउन देउवाको अनेक दाउपेच
काठमाडौं । पार्टीमा असन्तुष्ट नेताहरूबाट ‘असफल नेतृत्व’को उपमा पाएका सभापति शेरबहादुर देउवा कार्यकाल लम्ब्याउने खेलमा लागेका छन् । सार्वजनिक रूपमै पार्टी नेताहरूबाट व्यापक आलोचना हुने क्रम नरोकिएपछि देउवाले कार्यकाल लम्ब्याएर अर्कोपटक पुनः नेतृत्व दाबीका लागि अनुकूल परिस्थिति बनाउने प्रयास गरिरहेको बताइएको छ ।
कांग्रेस महाधिवेशन सम्पन्न भएको २०७६ फागुनमा चार वर्ष पुग्छ । विधानअनुसार त्यसभित्र महाधिवेशन गराइसक्नुपर्ने भए पनि विधानकै अर्को दफाको सहारा लिएर ६ महिनादेखि वर्ष दिनसम्म कार्यकाल लम्ब्याउने खेलमा देउवा लागेका हुन् । पार्टीभित्र प्रभावशाली युवानेताहरूले देउवालाई अयोग्यको बिल्ला भिराउन थालेका छन् । पछिल्लोपटक तेस्रो पुस्ताका प्रभावशाली नेता चन्द्र भण्डारीले देउवालाई सार्वजनिक रूपमै ‘दूध नदिने थारो भैंसी’ भन्दै अपमानपूर्वक उनको आलोचना गरेका छन् । देउवाले सभापतिमा निरन्तरता पाउनुपर्ने कुनै कारण र औचित्य नरहेको भन्दै भण्डारीले आलोचना गरेपछि उनको अयोग्यतामाथि २२ असारदेखि जारी केन्द्रीय समिति बैठकमा प्रवक्ता विश्वप्रकाश शर्मा, गगन थापा, गुरुराज घिमिरेलगायतले कठोर आलोचना गरेका छन् । यो सिलसिला अझै रोकिएको छैन ।
पछिल्लोपटक कार्यकाल लम्ब्याएर कृष्णप्रसाद सिटौलालाई पनि आफ्नै क्याम्पमा ल्याउने, रामचन्द्र पौडेलनिकट नेताहरूलाई फकाउने, मनोनयनको विधिबाट प्रादेशिक संरचनाहरू अनुकूल बनाउने योजनामा देउवा रहेको बताइएको छ । जारी बैठकमा रामचन्द्र पौडेलनिकट नेताहरूले भने निर्वाचनमार्फत प्रदेश समितिहरू बनाउनुपर्ने माग गरिरहेका छन् । सहमतिको विधि अर्थात् मनोनयनबाट समिति बनाउनुपर्ने देउवा पक्षको प्रस्ताव छ । तर, पौडेल पक्षले त्यसलाई कुनै हालतमा स्वीकार नगर्ने चेतावनी दिएको छ । केही दिनअघि मात्र उनीनिकट जिल्ला सभापतिहरूले त्यसलाई रोक्ने रणनीति बनाउने उद्देश्यले भेलासमेत गरेका थिए ।
बैठकमा चौधौं महाधिवेशनको कार्यतालिका बनाउने एजेन्डा भए पनि यसलाई थाँती राखेर आगामी फागुन मसान्ततिर मात्र निर्णय गर्ने योजनामा देउवा छन् । उनको यस्तो योजना बुझेपछि पौडेल पक्षले महामन्त्री शशांक कोइरालालाईसमेत विश्वासमा लिएर जारी बैठकबाटै महाधिवेशनको कार्यतालिका पारित गर्नुपर्नेमा जोड दिइरहेका छन् ।
कार्यकालको अन्तिम वर्षसम्म पनि देउवाले केन्द्रीय विभाग गठन गर्न सकेका छैनन् । मनोनयनका भरमा चलिरहेको नेविसंघ, तरुण दल, महिला संघ, किसान संघको अधिवेशन नभएको लामो समय बितेको छ । मनोनीत पदाधिकारीहरूको पनि म्याद सकिएपछि ती संगठनहरूमा पनि कसलाई बनाउनेबारे देउवा र पौडेल पक्षबीच कुरा मिलेको छैन ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply