परिवर्तनको आभास
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले डेढ वर्ष व्यतीत गर्न लाग्दैछ । इतिहासमै पहिलोपटक वामपन्थी शक्तिले नेतृत्व पाएको सरकारले स्थिर र गतिशील रूपले शासन सञ्चालन गरिरहेको छ । यस्तो अवसर कमै सरकारहरूलाई मात्रै आउँछ । राजनीतिक अस्थिरता, आपसी खिचातानी, प्रतिगामी शक्तिहरूको चलखेलको प्रभाव, गुटगत स्वार्थलगायत तमाम कारणहरूले सरकारले अस्थिरताको बाटो समात्ने गरेको विगतका ‘रोगहरू’बाट केही हदसम्म भए पनि वर्तमान सरकार मुक्त छ । राजनीतिक स्थायित्वबीच नै वर्तमान सरकारले गतिशीलता पक्रिने र सरकारका संकल्पनाहरूले पूर्णता पाउने अपेक्षा पनि सँगाल्न थालिएको छ ।
यद्यपि वामपन्थी शक्तिको हातमा सत्ताको बागडोर जानुको अर्थ केवल सत्ता परिवर्तनको प्रश्न मात्रै जोडिएको भने थिएन । ‘क’ पात्रको ठाउँमा ‘ख’ पात्रले सत्ताको लगाम समात्ने प्रश्न मात्र पनि थिएन । यो त राष्ट्र र समाजको आधारभूत ढाँचामा नै परिवर्तनका स्पष्ट संकेतहरू देखिने र परिवर्तनका सुस्पष्ट रूपरेखा कोरिने अपेक्षासँग पनि उत्तिकै गाँसिएको विषय थियो । तर वामपन्थी शक्तिले सरकार नेतृत्वको अवसर पाए पनि र दुई तिहाइको ट्याग लगाउन पाए पनि वर्तमान सरकार एउटा सरकार विस्थापित भएर अर्को सरकार गठन भएजस्तो सामान्य भूमिकामा उभिएको प्रतीत हुँदै गइरहेको छ । केवल सत्ताको परिवर्तन भएजस्तो मात्र महसुस हुँदै गइरहेको छ । कतै सत्ताको बागडोर सम्हाल्नेहरूले समाजका आधारभूत ढाँचामा नै परिवर्तन ल्याउने दिशा समात्नुभन्दा विशुद्ध रूपमा सत्ता र भोगवादी राजनीतिको फेर समात्न थालेका त होइनन् ? यस्तो प्रश्न स्वाभाविक रूपमा उठ्न थालेको छ ।
राष्ट्र र समाजको आधारभूत ढाँचामा परिवर्तन ल्याउने दिशातिर वामपन्थी शक्ति नेतृत्वको सरकारले कदम चाल्नुपथ्र्यो । यदि परिवर्तनको आभास नदिलाउने हो भने वर्तमान सरकारलाई विगतका अरु यथास्थितिवादी सरकारहरूकै लहरमा राखेर हेर्नुपर्ने हुन्छ । जनताले पनि त्यही आधारमा मूल्यांकन गर्छन् । हुन त, वर्तमान सरकारले परिवर्तनका मसिना रेखाहरू कोर्न प्रयत्न नगरेको भने होइन । सामन्ती प्रथा र रुढतामा उभिएका चिजहरूलाई उखेल्न कदम नचालेको होइन । तर, त्यस्ता प्रयत्नहरूले सार्थक दिशा पहिल्याउन भने सकेनन् । खासगरी, यथास्थिति र प्रतिगामी शक्तिहरूको चरम विरोध र असन्तुष्टिका सामु सरकारले हार स्वीकार गर्नुपर्ने स्थिति सिर्जना भएकोमा दुईमत देखिँदैन ।
परिवर्तनको दिशा पहिल्याउन चाहनेहरूका गोरेटामा यथास्थिति र प्रतिगामी शक्तिहरूले रोडा–ढुंगाहरू अवश्य नै बिछ्याउने गर्छन् । यो निरन्तर चलिरहने प्रक्रिया हो । सामाजिक जीवनमा आउने परिवर्तनले आफ्नो स्वार्थमा धक्का पु¥याउने हुँदा यथास्थितिका वाहकहरूले त्यसलाई रोक्न र छेक्न अनेक प्रयत्न गर्छन् । समाज विकासले गति लिने भनेकै यथास्थिति र परिवर्तनकारी शक्तिबीचको संघर्षको आधारमा हो । निःसन्देह, कुनै समाजले परिवर्तन र विकासका सोपानहरू चढेका छन् भने त्यो परिवर्तनकारी शक्तिको प्रयत्न र विजयका कारण चढेका छन् । यद्यपि, कुनै यथास्थितिवादी वा प्रतिगामी शक्तिले थुनछेक गर्ला भनेर परिवर्तनको दिशामा कदम नचालेका भए समाजमा परिवर्तनका पताकाहरू कसरी फहराउन सक्थ्यो र ? समाज त उही पुरानै किलामा अल्झिएर मात्रै बस्थ्यो ।
वामपन्थी शक्तिले अपार जनमत बटुल्न सक्नुको मुख्य कारण परिवर्तनको दिशातिर राष्ट्र र समाजलाई डो¥याउन मुख्य भूमिका खेल्छ भन्ने अपेक्षासँग जोडिएको थियो । अझ परिवर्तनको मुद्दासँगै त्यसमा आर्थिक समृद्धिको एजेन्डा जोडिएपछि त त्यसले जनतालाई आकर्षित नगर्ने प्रश्नै रहेन । स्वाभावैले वामपन्थीहरू सदैव परिवर्तनको पक्षमा हुन्छन् नै । यो जनतालाई घोकाइरहनुपर्ने विषय थिएन । किनभने, व्यवहारबाट नै जनताले वामपन्थीहरूलाई परीक्षण गरिसकेका थिए । परीक्षणमा खरो उत्रिएकै कारण वामपन्थी शक्तिलाई जनताले रुचाएकामा कुनै सन्देह देखिँदैन ।
यथास्थितिका पोषकहरूले औंला ठड्याउँदैमा लत्रिने अवस्थाबाट वामपन्थी सरकारले आफूलाई मुक्त तुल्याउनैपर्छ । दुई तिहाइको आडम्बरमा सरकारले यसो ग¥यो, उसो ग¥यो भनेर खैलाबैला मच्याउनेहरूसामु सरकारले घुँडा टेक्नु किमार्थ हुँदैन । नेपाली समाजलाई गतिशील, परिवर्तनशील तुल्याउनबाट रोक्ने शक्ति, समूह र प्रवृत्तिहरूविरुद्ध उभिएर देशमा वामपन्थीको सरकार छ भन्ने आभास दिलाउन सक्नुपर्छ । तलाउमा वर्षौंदेखि जमेर बसेको फोहोर पानीलाई हटाएर नयाँ, सफा र सङ्लो पानी भर्नेतिर कदम चाल्नु अनिवार्य देखिन्छ ।
सम्बन्धित समाचार
- ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
- आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply