पर्यटन विकासको मुल चुरो
हामीकहाँ संसारकै अग्ला र उच्च हिमशृंखलाहरू छन् । बौद्ध धर्म र ज्ञानका अनुयायीहरूका निम्ति लुम्बिनीजस्तो पवित्र थलो छ । हिन्दू धर्मावलम्बीहरूका निम्ति पशुपतिनाथ, जानकी मन्दिरलगायत अनेक कलात्मक मठ–मन्दिरहरू छन् । अनेक ऐतिहासिक–सांस्कृतिक सम्पदाहरू छन् । मनै लोभ्याउँदा प्राकृतिक दृश्यहरू अवलोकन गर्न सकिने पहाडी शृंखलाहरू छन् । दुर्लभ जीवजन्तु र पक्षीहरू नियाल्न पाइने तराईका घना वनजंगलहरू छन् । के छैन हामीकहाँ ? महाकवि लक्ष्मीप्रसाद देवकोटाले दशकौंअघि त्यसै भनेका होइनन्– ‘के नेपाल सानो छ ?’
नेपाल सानो थिएन र छैन पनि । क्षेत्रफलका आधारमा हेर्ने हो भने सानै देखिए पनि प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिकजस्ता हरेक पक्षमा नेपाल समृद्ध र सुशोभित छ । तर, ‘नबोल्नेको चामल नबिक्ने’ जस्तै नियति भोगेर नेपालीहरू बाँच्दै आएका छन् । आफूसँग भएका आकर्षक वस्तुहरूको समुचित रूपले प्रचार गर्न नसक्दा बाह्य मुलुकका नागरिकहरूलाई नेपालसम्म तान्न सकिइरहेका छैनौं । न त पर्याप्त रूपमा आकर्षक हिमशृंखलाहरूको प्रचार गर्न सकेका छौं, न त बुद्ध नेपालमा जन्मिएका हुन् भनेर सिंगो विश्वलाई सम्झाउन सकेका छौं ।
पर्यटन क्षेत्रको विकासले देशको आर्थिक उपार्जनमा उल्लेख्य टेवा पु¥याउनेमा कुनै दुईमत देखिँदैन । संसारका कतिपय देशको आम्दानीको मुख्य स्रोत नै पर्यटन व्यवसाय रहँदै आएको छ । थाईल्याण्ड, सिंगापुर, इन्डोनेसिया, श्रीलंकाजस्ता दक्षिण–पूर्वी एसियाली मुलुकहरूको आम्दानीको ठूलो हिस्सा पर्यटन व्यवसायले ओगटेको छ । ती मुलुकहरूसँग विदेशी पर्यटकलाई आकर्षण गर्ने आधार समुद्रबाहेक अरू केही छैनन् । तर, बर्सेनि तिनै मुलुकहरूमा पर्यटकहरू ओइरिएका हुन्छन् । हामीकहाँ संसारकै अग्लो चुली सगरमाथा, बुद्धको जन्मथलोलगायत थुप्रै आकर्षणहरू हुँदाहुँदै पनि अपेक्षाकृत रूपमा पर्यटकहरू तान्न सकिरहेका छैनौं ।
निश्चय नै विदेशी पर्यटकहरू जुन मुलुकमा घुम्न निस्किन्छन्, उनीहरूले त्यो मुलुकका विशेषताहरू बुझेर नै जाने गर्छन् । आफू घुम्न जाने मुलुक शान्त छ कि छैन, कुनै प्राकृतिक प्रकोपको चपेटामा परेको छ कि छैन जस्ता पक्षहरू पर्यटकहरू नियाल्ने गर्दछन् । राजनीतिक, सामाजिक द्वन्द्व र अस्थिरताले गाँजेको मुलुक पर्यटकहरूको प्राथमिकतामा नपर्नु स्वाभाविकै हो । कुनै नागरिकको पहिलो प्राथमिकता सुरक्षा नै हो । तर, हामीकहाँ भने विगतमा लामो समयसम्म द्वन्द्व चर्किएको हुँदा त्यसले पर्यटन क्षेत्रको विकासमा तुलनात्मक रूपमा असर पु¥यायो । द्वन्द्वको लहर गाउँगाउँसम्मै फैलिएको हुँदा विदेशी पर्यटकहरू हच्किए र उनीहरूका भ्रमण सूचीमा नेपाल पर्न सकेन । द्वन्द्वको विश्रामपछि सल्बलाउन थालेको पर्यटन क्षेत्र २०७२ सालको महाभूकम्पपछि फेरि केही वर्ष सुस्ताउन पुग्यो । अहिले भने पर्यटन क्षेत्रले विस्तारै शिर उठाउन थालेको छ र पर्यटकहरू अपेक्षाकृत रूपमा भित्रिन थालेका छन् ।
विदेशी पर्यटकहरूलाई तान्न सरकारले प्रयत्न नगरेको भने होइन । पछिल्लो समयको ‘भिजिट नेपाल–२०२०’ त्यसकै एउटा कडी हो । सन् १९९८ र २०१० मा पनि भिजिट नेपालको उत्सव मनाइएको थियो । अहिले भने २० लाख पर्यटक भिœयाउने लक्ष्य बोकेर ‘भिजिट नेपाल–२०२०’लाई सफल तुल्याउन सरकार लागिपरेको छ । ‘भिजिट नेपाल–२०२०’लाई सार्थक तुल्याउन सातवटै प्रदेशमा कमिटीहरू गठन गरिएका छन् र केन्द्रमा पनि एउटा कमिटी गठन गरेर चलायमान तुल्याउने प्रयत्न गरिएको छ । यद्यपि, ‘भिजिट नेपाल–२०२०’का लागि जसरी युद्धस्तरमा तयारी हुनुपर्ने थियो, त्यस्तो नहुँदा सरकार लक्ष्यविमुख भएको हो कि भन्ने आशंका पनि उत्पन्न नभएको होइन ।
‘भिजिट नेपाल–२०२०’ घोषणा भएपछि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी दुःखद निधन भयो । मन्त्रीको अभावमा प्रभावकारी रूपमा काम अघि बढ्न सकेन । तर, केही दिनअघि युवा नेता योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भने अब अल्मलिएको ‘भिजिट नेपाल–२०२०’ले गति लिने सर्वत्र अपेक्षा गर्न थालिएको छ । २० हजार पर्यटक भिœयाएर ‘भिजिट नेपाल–२०२०’लाई सार्थक र सफल तुल्याउने अभियानले अब भने मूर्तरूप लिने विश्वास गर्न थालिएको छ । तर, समय छोटो भएको हुँदा त्यसका निम्ति नवनियुक्त मन्त्री भट्टराईले आफ्नो सम्पूर्ण ध्यान र ऊर्जा ‘भिजिट नेपाल–२०२०’मै लगाउनुपर्ने आवश्यकताबोध पनि उत्तिकै गर्न थालिएको छ ।
तर, एक वर्ष २० लाख पर्यटक भिœयाएर मात्रै नेपालको पर्यटन क्षेत्रको समुचित विकास हुँदैन । आगामी दिनमा हरेक वर्ष लाखौंका संख्यामा विदेशी पर्यटकलाई कसरी नेपालमा तान्ने भन्ने स्पष्ट दृष्टिकोण र कार्ययोजना ल्याउनु उचित देखिन्छ । त्यसका निम्ति सरकारले तत्काल चासो र तत्परता देखाउनु सान्दर्भिक होला ।
सम्बन्धित समाचार
- ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
- आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply