यस्ता त कर्मचारीका नेता
काठमाडौं । सगरमाथाको आधार शिविरमै नगई गएको फर्जी प्रमाण पेस गरी डलर भुक्तानी लिने निजामती कर्मचारीहरू सूचीमा आधिकारिक ट्रेड युनियनका जिम्मेवार पदाधिकारीहरू देखिएका छन् । हिमाल आरोहणमा जाने विदेशी पर्यटकको सम्पर्क अधिकृत (लियाजो अफिसर) ले आधार शिविरमै नगई गएको प्रमाणित गरी प्रतिव्यक्ति ४ लाखभन्दा बढी पारिश्रमिक लिनेमा जिम्मेवार पदाधिकारीहरू थिए ।
आधिकारिक ट्रेड युनियनको १० सदस्यीय कार्यसमितिमा अध्यक्ष पुण्य ढकाल, उपाध्यक्ष भोलानाथ पोखरेल र सदस्य विश्वबन्धु रेग्मी लियाजो अफिसरमा खटिएका थिए । पोखरेललाई भने स्पष्टीकरण सोधिएको छैन । पारिश्रमिक लिनेमध्ये १५ कर्मचारीहरूलाई पर्यटन विभागले २०७६ भदौ ६ मा स्पष्टीकरण सोधेको हो । अध्यक्ष पुण्यप्रसाद ढकालदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत नेपाली कांग्रेसनिकट अधिकृत कमल मिश्रसम्मलाई पर्यटन विभागले १५ दिने स्पष्टीकरण सोधेको छ । यो वर्ष आधिकारिक ट्रेड युनियनका दुई पदाधिकारी र एक सदस्य हिमाल आरोहणको लियाजो अफिसरमा खटिएका थिए । आमकर्मचारीको भाग खोसेर पटकपटक लियाजो अफिसरमा जाने ट्रेड युनियन नेतृत्वको व्यवहारबाट आमकर्मचारी रुष्ट हुँदै आएका छन् ।
हिमाल आरोहण नगरी डलर भुक्तानी लिने आधिकारिक ट्रेड युनियनका सदस्य विश्वबन्धु रेग्मीलाई पनि विभागले स्पष्टीकरण सोधेको छ । उनी नेपाली कांग्रेसनिकट निजामती कर्मचारी युनियन संघबाट आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्व गर्दछन् । हिमाल आरोहणका लागि लियाजो अफिसरका रूपमा जानेले डलर पाउने हुनाले त्यसमा जान चलखेल हुने गरेको छ ।
तर हिमाल नै नचढी फर्जी प्रमाण जुटाएर भुक्तानी लिने क्रम बढेपछि लियाजो अफिसर खटाउने प्रक्रियाप्रति नै प्रश्न उठेको छ । लियाजो अफिसरमा खटाउँदा ट्रेड युनियन नेताहरू, अख्तियारका कर्मचार, शक्तिशाली नेता र सचिवसम्म पहुँच हुनेले पटकपटक अवसर पाउने तर अरू कर्मचारीले नपाउने गरेको गुनासो सम्बोधन हुन सकेको छैन ।
तैपनि खटिएर जानेहरूले आधार शिविरमा पनि नपुगी कीर्ते प्रमाण पेस गरेर भुक्तानी लिने गरेको पाइएको छ । त्यसैगरी भुक्तानी लिएकाले नै यसपटक स्पष्टीकरण नै सोधेर कारबाही प्रक्रियामा लैजानुपरेको पर्यटन विभागअन्तर्गतको होटेल, पर्वतारोहण तथा अनुुगमन शाखाका निर्देशक मीरा आचार्यले बताइन् ।
लियाजो अफिसरका रूपमा जानेहरूले काठमाडांैमै बसेर आरोहीलाई सगरमाथाको चुचुरोमा पुगेको प्रमाणित गर्ने कामसमेत भएको छ । यस वर्ष विभागले ३७ जना सरकारी कर्मचारीलाई लियाजो अफिसरको जिम्मेवारी दिएको थियो । ती मध्ये २२ जना कर्मचारी सगरमाथाको बेस क्याम्प पुगेका थिए भने बाँकी १५ जना कर्मचारी काठमाडौंमै बसी फर्जी प्रमाण पेस गरी भुक्तानी लिएका थिए । ६ हजार ५ सयभन्दा अग्ला हिमालमा आरोहणमा जाने विदेशीका लागि लियाजो अफिसर खटाउने गरिन्छ । आरोहणमा जाने आरोही दलसँग एकजना सरकारी कर्मचारीलाई लियाजो अफिसरका रूपमा पठाइन्छ ।
विभागले स्पष्टीकरण सोधेका कर्मचारीहरूमा अख्यितारमा कार्यरत शाखा अधिकृतद्वय तीर्थ चापागाईं र कमल मिश्र पनि छन् । राष्ट्रपति कार्यालयका उपसचिव प्रह्लाद पुडासैनीलाई पनि विभागले स्पष्टीकरण सोधेको छ । आधार शिविरमै नपुगी हिमाल आरोहण गरेको भनी फर्जी प्रमाण पेस गरेको आरोपमा विभागले स्पष्टीकरण सोधका कर्मचारीहरूमा पर्यटन मन्त्रालयका उपसचिव मंगला श्रेष्ठ, शाखा अधिकृतहरू लेखा पनेरु, गणेशबहादुर कटवाल, कम्प्युटर अधिकृत बिना श्रेष्ठ पनि छन् ।
पर्यटन विभागका प्राविधिक अधिकृत गोपाल भण्डारी, विभागकै कानुन अधिकृत चन्द्रप्रसाद अधिकारी, प्रदेश ५ का अधिकृत हुमनाथ पाण्डे, प्रदेश १ का कम्प्युटर अधिकृत सन्तोष मोक्तान, प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयका कानुन अधिकृत लक्ष्मी शर्मा छन् । स्मरणीय छ, अध्यक्ष ढकाल भने गृह मन्त्रालयअन्तर्गत अध्यागमन विभागका कर्मचारी हुन् । उनी टे«ड युनियन काज भन्दै काम नगरी भाषण ठोक्ने र कर्मचारी वृत्तमा गुटको खेतीपाती चलाउने गर्दै आएको चर्चा छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply