राजनीतिक दरिद्रता
कुनै जिम्मेवार राजनीतिक पार्टीको प्रमुखले सस्तो लोकप्रियताका निम्ति तथ्यहीन अभिव्यक्ति दिनु कत्तिको जायज होला ? नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो अभिव्यक्तिले यस्तै प्रश्न उब्जाएको छ । आसन्न उपनिर्वाचनको प्रचारप्रसारका क्रममा पोखरा पुगेका सभापति देउवाले केही दिनपूर्व दिएको अभिव्यक्तिले एकजना जिम्मेवार नेताको कद मात्र घटाएको छैन, तथ्य र आधारहीन कुरा गरेरै नेपाली कांग्रेसका नेताहरू राजनीतिक फाइदा उठाउन चाहन्छन् भन्ने कुराको पुष्टिसमेत हुन पुगेको छ । सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको नामै उद्धृत गरेर ‘ओलीसँगको सहमतिमै भारतले नेपालको भूभाग आफ्नो नक्सांकनमा पारेको’ बेतुकको अभिव्यक्ति दिएपछि कांग्रेसका नेताहरूको राजनीतिक हैसियत उदांगिन पुगेको छ ।
कास्कीको २ नम्बर क्षेत्रलगायत विभिन्न प्रदेशमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको प्रचार–प्रसार अहिले उत्कर्षमा छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसबीच नै अधिकांश निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा हुने भएको हुँदा यी दुवै दल चुनावी प्रचारमा जुटेका छन् । सामान्यतः निर्वाचनको प्रचारप्रसारका क्रममा एउटा राजनीतिक दलले अर्को राजनीतिक दलका कमीकमजोरी केलाएर आफ्नो पक्षमा मत बटुल्न चाहन्छन् । जनतालाई प्रभावित पार्न अनेक उपायहरू अपनाउन खोज्छन् । कुनै दलले तथ्यका आधारमा र कुनैले मिथ्या प्रचार गरेरै भए पनि जनमत प्रभावित पार्न खोज्नु स्वाभाविक पक्ष हो । यसलाई अन्यथा मान्न मिल्दैन । तर, कांग्रेस सभापति देउवाले कास्कीमा दिएका अभिव्यक्ति भने आपत्तिजनक मात्र छैन, यसले सभापति देउवामा पलाउँदै गएको राजनीतिक दरिद्रताको पर्दाफाससमेत गरेको छ ।
विदितै छ, अहिले कालापानी मुद्दा राष्ट्रिय बहसको केन्द्रमा छ । केही समयपूर्व छिमेकी राष्ट्र भारतले आफ्नो देशको नयाँ नक्सांकन गर्दा नेपाली पक्षले पहिल्यैदेखि दाबी गर्दै आएको लिम्पियाधुरा–लिपुलेक–कालापानी खण्डलाई पनि नयाँ नक्सामा समेट्यो । भारतको नयाँ नक्सामा नेपाली भूभाग पनि पारिएयता भारतको उक्त कदमविरुद्ध तीव्र विरोध र असहमतिका स्वरहरू गुन्जिँदै आएका छन् । जनस्तरबाट तीव्र विरोध हुँदै आएका त छन् नै, प्रधानमन्त्री ओलीले समेत सीमा विवादको मुद्दालाई सल्टाउन कूटनीतिक पहल पनि आरम्भ गरिसकेका छन् । भारतीय नयाँ नक्सामा समेटिएको नेपाली भूभाग वर्षौंदेखि आफ्नो भूभाग रहेको कुरा मात्र उल्लेख गरिएको छैन, कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता लैजान प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमै भारतलाई आग्रह गरिसकेका छन् ।
यो अवधिमा सीमा मिचिएको कुरालाई लिएर राष्ट्रिय सहमति जुटाउने प्रयत्न पनि भएको छ । प्रधानमन्त्री ओलीको आह्वानमा बोलाइएको सर्वपक्षीय बैठकमा कांग्रेस सभापति देउवासमेत उपस्थित थिए । त्यतिबेला देउवाले सकारात्मक कुरा नै गरेका थिए । त्यसयता पनि देउवाले मिचिएको भूभाग भारतले नेपाललाई फिर्ता गर्नुपर्ने कुरा गर्दै आएका थिए । तर, पोखरा पुगेर देउवाले किन बेतुक, तथ्यहीन र भ्रामक प्रचार गरे ? यो सोचनीय प्रश्न बन्न पुगेको छ । मतदाताहरूलाई प्रभावित पार्नकै लागि देउवाले तल्लो स्तरमा ओर्लेर घटिया अभिव्यक्ति दिँदा त्यसले आफ्नो उचाइ र हैसियतमा प्रश्नचिह्न लाग्ला भन्ने हेक्का उनलाई भएन कि ? वा, उनले आवेगमा आएर त्यस्तो अभिव्यक्ति दिए ? सामान्य नागरिकले समेत विश्वास नगर्ने अभिव्यक्ति दिएयता अहिले देउवाको राजनीतिक स्तर झनै उजागर हुन पुगेको छ ।
तथ्यहीन कुरा गरेर जनमानसलाई उद्वेलित तुल्याउने कार्यको अग्रसरता सभापति देउवाले नेकपाको नेतृत्वमा सरकार गठन भएदेखि नै देखाउँदै आएका हुन् । ओलीको नेतृत्वमा सरकार गठन भएलगत्तै देउवाले ‘अधिनायकवाद सुरु भएको’ बताएका थिए । कम्युनिस्टहरूको सरकारमा जनताले रुनसमेत नपाउने अभिव्यक्ति पनि दिएका थिए उनले । सरकार गठन भएको दुई वर्ष पुग्न लाग्दैछ । के यो अवधिमा देशमा अधिनायकवादको झल्को आउने कुनै कार्य भए ? जनताले रुनसमेत पाएनन् ? तत्कालीन समयमा कांग्रेस सभापति देउवाले बोलेका कुराहरू मिथ्या र भ्रामक थियो भन्ने कुरा समयक्रममा पुष्टि भइसकेको छ ।
सस्तो लोकप्रियताका लागि अनर्गल, मिथ्या र भ्रामक कुरा बोल्दा त्यसले आफ्नै कद घटाउँछ भन्ने कुरामा प्रमुख प्रतिपक्षी दलका नेता देउवा दिनदिनै चुक्दै गएका छन् । आफ्नै पार्टीभित्र अलोकप्रिय बन्दै गएका देउवाको बोलीको ठेगान हुन छाडेको छ । आफू र पार्टीको समेत गरिमामा आँच आउने गरी अभिव्यक्ति दिँदै हिँड्न थालेका छन् । अचेल कांग्रेसीजनहरू नै प्रश्न गर्न थालेका छन्, देउवामा कहिले सद्बुद्धि पलाउँला ?
सम्बन्धित समाचार
- ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
- आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply