घनश्यामको सक्रियता
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले मन्त्रालयमातहत रिक्त निकायहरूमा पदपूर्ति गर्न तत्परता देखाएका छन् । लामो समयदेखि विभिन्न बोर्ड र संस्थानहरूमा नियुक्ति हुन सकेको थिएन । विभिन्न निकायहरू निमित्त र कामुका भरमा चल्दै आएका थिए ।
नेकपाभित्र बौद्धिक नेताका रूपमा परिचित भुसाललाई जनतासँग प्रत्यक्ष रूपमा जोडिने मन्त्रालयको जिम्मेवारी दिइएपछि कामलाई चुस्त र प्रभावकारी तुल्याउनुपर्ने चुनौती रहेको छ । त्यसकारण कामलाई प्रभावकारी बनाउन रिक्त रहेका ठाउँहरूमा नियुक्ति गर्ने तत्परता मन्त्री भुसालले देखाउन थालेको बताइन्छ ।
केही दिनअघि मन्त्रालयले विभिन्न बोर्ड र संस्थानहरूमा खुला प्रतिस्पर्धाद्वारा नियुक्त गर्न विज्ञापन आह्वान गरेको थियो । जसमा लामो समयदेखि रिक्त रहेका दुग्ध विकास संस्थानको अध्यक्ष र महाप्रबन्धक, दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक, कृषि सामग्री कम्पनी र राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डको उपाध्यक्ष र कार्यकारी निर्देशक तथा कपास विकास समितिको अध्यक्ष रहेका थिए ।
तर, दुग्ध विकास संस्थानको अध्यक्ष र महाप्रबन्धकका लागि आवेदन आह्वान गरे पनि महाप्रबन्धक भने तत्काल नियुक्त नहुने देखिएको छ । अहिले मन्त्रालयका सहसचिव बैकुण्ठनाथ अधिकारीलाई महाप्रबन्धकको जिम्मेवारी दिइएको छ । यसअघि उनी प्रदेश ५ को सचिवमा कार्यरत थिए । मन्त्रालयमा सरुवा भएलगत्तै उनी संस्थानको महाप्रबन्धकको जिम्मेवारी सम्हाल्न पुगेका हुन् । तर, संस्थानले रिक्त महाप्रबन्धक पदका लागि गरिएको आह्वानको सूचना भने केही दिनअघि मन्त्रालयले रद्द गरेको छ । गएको मंसिर १८ गते सूचना जारी भएपछि उच्च अदालतमा पाटनमा त्यसविरुद्ध मुद्दा परेपछि पदपूर्तिसम्बन्धी सूचना रद्द गरिएको हो । दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकका लागि आह्वान गरिएको विज्ञापन पनि उच्च अदालत, पाटनमा मुद्दा परेपछि रद्द गरिएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड र राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालक पदमा खुला प्रतिस्पर्धाद्वारा चयन गर्ने प्रक्रियामा पनि अवरोध देखिएको छ । ती दुवै संस्थानको विज्ञापन पनि मन्त्रालयले रद्द गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डमा भने खुला प्रतिस्पर्धाद्वारा उपाध्यक्ष र कार्यकारी निर्देशक नियुक्त हुने देखिएको छ । गएको वैशाखमा तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतमको अवधि सकिएपछि सो पद खाली रहँदै आएको थियो ।
विज्ञापन रद्द गरेसँगै दुग्ध विकास बोर्डमा भने कार्यकारी निर्देशक नियुक्त हुन अझै समय लाग्ने देखिएको छ । बोर्डमा दुई वर्षदेखि कार्यकारी निर्देशक खाली छ । तत्कालीन कार्यकारी निर्देशक कैलाश ढुंगेल प्रदेशसभामा निर्वाचित भएपछि सो पदमा कसैलाई नियुक्ति गरिएको छैन । कृषि सामग्रीका तत्कालीन प्रबन्ध सञ्चालक अमरराज खैरको पदावधि सकिएपछि सो पद पनि खाली नै छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply