कांग्रेसमा गुट अदलबदल
काठमाडौं । निर्धारित मितिमा नेपाली कांग्रेसको महाधिवेशन भएमा अझै ठीक एक वर्ष बाँकी छ । २०७७ साल आजकै दिन अर्थात फागुन ७ देखि १० सम्म पार्टीको १४औं महाधिवेशन गर्ने निर्णय यसअघि केन्द्रीय कार्यसमितिको बैठकले गरिसकेको छ । तर, महाधिवेशन आउन एक वर्ष बाँकी छँदै अहिल्यैबाट गुट अदलबदलको क्रम सुरु भइसकेको छ । कतिपय नेताले पहिले समाउँदै आएको गुट फेरिसकेका छन्, भने कतिपय कुन समूहमा लाग्दा आफूलाई प्रत्यक्ष फाइदा पुग्छ, त्यो हेरर बसिरहेका छन् । गुट अदलबदलले सबैभन्दा ठूलो घाटा भने कृष्णप्रसाद सिटौलालाई भएको छ ।
कांग्रेसमा अहिले मूलतः चारवटा गुट छन् । पहिलो, सभापति देउवालाई नेता मान्ने संस्थापन समूह । दोस्रो रामचन्द्र पौडेल समूह, तेस्रो कृष्णप्रसाद पौडेल समूह र चौथो विजयकुमार गच्छदार समूह । देउवा, पौडेल र सिटौला गुट अघिल्लो महाधिवेशनमै अलगअलग रूपमा चुनावी प्रतिस्पर्धामा होमिएका हुन् । पछिल्लो समय गच्छदार पनि फोरम छाडेर कांग्रेसमा आएपछि त्यहाँ उनको अलग्गै समूह छ । कांग्रेसले केही दिनअघि भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन गर्दा प्रस्टसँग चार समूहलाई मिलाएर भागबन्डा गरेर चार गुटलाई संस्थागत रूपमै मान्यता दिइसकेको छ । यीमध्ये ललिता निवास प्रकरणमा गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाइसकेको हुनाले यो गुट अब स्वभाविक रूपमै सकिने बताइन्छ । कांग्रेसनिकट स्रोतका अनुसार गच्छदारलाई नेता मान्नेहरूको समूहका अधिकांश अब देउवातिर जान खुट्टा उचालेर बसेका छन् भने केही व्यक्तिगत सम्बन्धका आधारमा पौडेल समूहतिर लाग्ने तयारीमा छन् । देउवा र पौडेल समूहमा रहेका अधिकांश नेता पहिले जो जतातिर थिए, ती अहिले पनि त्यतै छन् । तर, सिटौला समूह भने छिन्नभिन्न भएको बताइन्छ । सिटौला समूहका नेता उमाकान्त चौधरी अहिले देउवा समूहमा भित्रिसकेका छन् । उनी अहिले देउवा समूहका हरेक भेला बैठकमा जाने गरेका छन् । त्यस्तै युवा नेता गगन थापा र प्रदीप पौडेलले पनि सिटौलाको साथ छाडिसकेको बताइन्छ । गत महाधिवेशन सिटौला समूहबाट महामन्त्रीमा चुनाव लडेका थापा पछिल्लो समय नेविसंघको तदर्थ कमिटी गठनबाट सिटौलासँग रुष्ट भएका हुन् । नेविसंघमा सिटौला समूहले पाएको दुई महामन्त्रीमा थापा एकजना आफ्नो विश्वासपात्र कुन्दनराज काफ्लेलाई बनाउन चाहन्थे । तर, सिटौलाले टेरपुच्छर लगाएनन् । उनले आफ्नो भागका दुई महामन्त्रीमा बलदेव तिमिल्सिना र युवराज पाण्डेलाई बनाइदिए । यही घटनाबाट बिच्किएका थापाले सिटौलालाई बाइबाई गरिसेको भए पनि देउवा र पौडेलमध्ये कुन समूहमा जाने भन्ने निर्णय भने गरिसकेका छैनन् । आगामी महाधिवेशनबाट जसरी हुन्छ महामन्त्री बन्ने तयारीमा रहेका उनी त्यसबेलासम्म जुन गुट बलियो हुन्छ र जसले महामन्त्रीको टिकट दिन्छ त्यत्तै लाग्ने सुरमा रहेको बताइन्छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply