कोरोनाले थलिँदै अर्थतन्त्र
विश्वव्यापी रूपमै आतंक र त्रास फैलाइरहेको कोरोना भाइरस अझै नियन्त्रण बाहिर छ । चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस संक्रमणको कारण विश्वका विभिन्न देशका नागरिकहरूले ज्यान गुमाइसकेका छन् र अझै कैयौं नागरिक प्रभावित भएका छन् । प्रायः सबै मुलुकले कोरोना भाइरसबाट जोगिन सतर्कता अपनाइरहेका छन् । नेपालले पनि विश्वकै मानव जातिलाई आतंकित तुल्याइरहेको यो भाइरसबाट बच्न सतर्कता अपनाउन नागरिकहरूलाई आह्वान गरिसकेको छ र अहिलेसम्म यो महामारीको प्रकोपबाट नेपाली जनताले पीडित बनेका छैनन् ।
कोरोना भाइरसको असरले बिस्तारै विश्व अर्थतन्त्रलाई गाँज्दै लगिरहेको छ । मानिसहरूको अन्तरदेशीय आवातजावत घट्दो छ । आर्थिक कारोबारहरू पनि घट्दै छन् । कोेरोनाको असरले हवाई उडानहरू घटेका छन्, सिनेमा हलमा ताला लागेको छ, होटल र रेस्टुरेन्टहरूमा ग्राहकहरूको भीड स्वात्तै घट्न पुगेको छ । अर्थात्, अर्थतन्त्रलाई चलायमान तुल्याउने हरेक क्षेत्र प्रभावित बन्न पुगेका छन् ।
नेपाललाई पनि कोरोनाको कहरले गिजोल्न थालिसकेको छ । नेपाली अर्थतन्त्रलाई गति दिने केही प्रमुख आधारमध्ये रेमिट्यान्स, पर्यटन क्षेत्रको विकासलगायत हुन् । तर, यी क्षेत्रहरूमा पनि गतिशून्यता छाउँदै छ । लाखौं पर्यटकहरूलाई भिœयाउने उद्देश्यअनुरूप सुरु गरिएको नेपाल भ्रमण–२०२० स्थगित गरिएको छ । सन् २०२० मा करिब २० लाख पर्यटक भिœयाउने उद्देश्यले प्रारम्भ गरिएको भ्रमण वर्ष सुरु भएको करिब दुई महिनापछि नै स्थगित हुँदा त्यसले सिंगो पर्यटन क्षेत्रलाई असर पु¥याएको छ । नेपाल भ्रमण वर्षलाई नै आधार मानेर पर्यटन क्षेत्रसँग सम्बन्धित होटल, रिसोर्टलगायतमा व्यवसायीहरूले व्यापक रूपमा लगानी गरेका थिए । अहिले अधिकांश होटल खाली छन् । २०७२ सालको महाभूकम्पले पर्यटन क्षेत्रलाई जसरी थङ्थिलो तुल्याएको थियो, कोरोनाले त्यही हाराहारीमा असर पु¥याउने अनुमान गर्न थालिएको छ ।
केही दशकयता नेपाली अर्थतन्त्रलाई गति दिने अर्को मुख्य आधार बनेको थियो– रेमिट्यान्स । नेपाली श्रमिकहरू मलेसिया र खाडी मुलुकहरूमा दशकयता उल्लेख्य संख्यामा श्रम बेच्न गइरहेका छन् । दिनहुँ सयौंका संख्यामा विदेश उड्ने तिनै श्रमजीवीहरूले कमाएर पठाएको रकमले नेपाली अर्थतन्त्रलाई गति दिइरहेको थियो । तर, कोरोनाको त्रास भित्रिएसँगै वैदेशिक रोजगारीमा जानेहरूको संख्यामा कटौती आउन थालिसकेको छ । कोरोनाले केही खाडी मुलुकहरूलाई समेत दपेटेको हुँदा नेपाली कामदारहरूलाई निम्त्याउने क्रममा गिरावट आएको छ ।
देशभित्रै पनि सिनेमा हलहरू बन्द हुन पुगेका छन् । होटल, रेस्टुरेन्ट र पार्टी प्यालेसहरूमा मानिसहरूको आवतजावत कम हुँदै जान थालेको छ । आन्तरिक पर्यटकहरू पनि घट्दै छन् । विभिन्न सभा, सम्मेलन र गोष्ठीहरू नगर्न सरकारले सचेत गराएको हुँदा त्यस्तो क्रम पनि घट्न पुगेका छन् । विदेशबाट आउने कच्चा पदार्थहरू रोकिन थालेको हुँदा अधिकांश उद्योग–कलकारखानाहरू लामो अवधिसम्म सञ्चालित नहुने अवस्था सिर्जना हुँदैछ । साथै, राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माण कार्य पनि प्रभावित बनिसकेको छ । चिनियाँ लगानीमा निर्माणाधीन जलविद्युत् आयोजनाहरू, अन्तर्राष्ट्रिय विमानस्थलहरू, सडक निर्माणलगायतका कार्यहरू रोकिन पुगेका छन् ।
कोरोनाको कारण नेपाली अर्थतन्त्र प्रभावित त बन्दैछ नै । कोरोना–त्रासलाई भजाएर कालो बजारी गर्ने, उपभोक्ताहरूलाई मर्कामा पार्ने र उपभोग्य सामानहरू लुकाउने कर्तुत पनि सुरु हुन थालेको छ । सुरुमा भारतबाट आउने औषधिहरूको कृत्रिम अभाव सिर्जना गर्ने प्रयत्न भयो । फार्मेसीहरूमा मानिसहरूको भीड लाग्न पुग्यो । उपभोग्य सामानहरूको अभाव हुने हल्ला पिटाएसँगै मानिसहरूले आवश्यकताभन्दा बढी सामानहरू मौज्दात गरे । ग्यास, खाद्यान्नलगायत अरू उपभोग्य सामानहरूको कृत्रिम अभाव देखाएर उपभोक्तालाई भुलभुलैयामा पार्ने खेल पनि यही समय हुन पुग्यो । तर, मानवीय त्रासमा नाजायज फाइदा उठाउने व्यापारीहरूलाई सरकारले उचित कारबाही गर्नुपथ्र्यो । अनावश्यक हल्ला पिटाएर जनतालाई झुक्याउने तप्कामाथि कारबाही गर्नुपथ्र्यो । तर, सरकारले त्यस्ता नाफाखोरीहरूलाई उन्मुक्ति दिनुमा नै उचित ठान्यो । यो सर्वथा गलत थियो ।
कोरोनाको प्रभावले सिंगो विश्वलाई नै गाँजेको हुँदा त्यसको असर कम नहोउन्जेल नेपाल पनि प्रभावमुक्त हुन सक्दैन । कोरोनाबाट प्रभावमुक्त नहोउन्जेल नेपाली अर्थतन्त्रले गति समात्न सक्दैन ।
सम्बन्धित समाचार
-
ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
-
आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply