सावधानी नै उत्तम विकल्प
सिंगो विश्वलाई कोभिड–१९ को महामारीले आक्रान्त तुल्याइरहेकै बेला नेपाल सरकारले पनि यो महामारी फैलिन नदिन लकडाउन ग¥यो । २०७६ चैत ११ गते लकडाउन गर्नुपूर्व महामारीले भयावह रूप लिइसकेको थिएन । तर, त्यसपछिका दिनहरूमा भने संक्रमितको संख्या बढ्दै गयो । दिनदिनै संक्रमितको संख्या बढ्दै जान थालेपछि प्रभावकारी हुन नसकेको लकडाउनलाई प्रभावकारी तुल्याउन सिंगो राज्य संयन्त्र नै तल्लीन देखियो । पछिल्लो समय भने लकडाउन खुकुलो तुल्याएसँगै सरकारले हठात् रूपमा लकडाउन हटायो । के घोषणा पनि गरियो भने नेपाल अभूतपूर्व रूपमा कोरोनालाई जित्न सफल देखियो ।
तर अब भने अभिशाप देखिँदैछ । न त सरकारले दाबी गरेजस्तै कोरोनालाई जित्न सकिएको रहेछ, न त लकडाउन हटाएपछि संक्रमित दरमा कुनै कमी नै आयो । अब भ्रमको उजागर हुँदैछ । संक्रमितको संख्या दिनप्रतिदिन चुलिँदै गइरहेको छ । दिनदिनै बढिरहेको संक्रमितको संख्या हेर्दा, हामी उम्लिनै लागेको ज्वालामुखीमाथि बसिरहेका छौं र कुनै दिन त्यसले भयावह र अकल्पनीय रूप लिने अवस्था सिर्जना हुँदैछ । जे नहोस् भनेर कामना गरिरहेका थियौं, त्यही समयको प्रतीक्षा गरिरहेका छौं ।
विश्वमा कोभिड–१९ को जोखिम झन् बढ्दै छ । महाशक्तिशाली राष्ट्र अमेरिका त यो महामारीको तीखो चपेटामा परेको छ । विकसित ब्राजिल, भारतलगायत मुलुकहरू संक्रमितको संख्या बढाउने प्रतिस्पर्धामा सामेल छन् । अहिलेसम्म करिब ६ लाख नागरिकले जीवन गुमाइसकेका छन् । करोडभन्दा बढी संक्रमित देखिएका छन् । झनै भयावह परिस्थिति सिर्जित हुँदैछ । अझ, संक्रमण दर रोक्न लकडाउन खुकुलो गरेका वा हटाएका मुलुकहरूले संक्रमितहरू बढ्न थालेपछि पुनः लकडाउनकै सहारा लिएका दृष्टान्तहरू छन् ।
सिंगो विश्वलाई नै हायलकायल तुल्याएको कोभिड–१९ बाट नेपाल पनि अछुतो रहन के सक्थ्यो र ? अहिलेसम्म करिब ५० जनाले जीवन गुमाएका छन् भने संक्रमितको संख्या करिब २० हजार पुगेको छ । पछिल्लो समय सरकारले लकडाउन हटाएपछि त संक्रमित दरमा झनै तीव्रता आउन थालेको छ । यो महामारीको तीखो चपेटामा सीमावर्ती सहर÷बजार र ग्रामीण बस्तीहरू पर्न थालेका छन् । सीमावर्ती भारतीय बजारमा नागरिकहरूको बढ्दो आवतजावतले विकराल रूप निम्याइरहेको छ । वीरगन्जलगायत सहरमा देखिएको अवस्थाले सीमावर्ती बजार र बस्तीहरू यो महामारीको चपेटाबाट ग्रस्त रहेको छर्लङ्गै देखाउँछ ।
हुन त सरकारले सीमा नाघेर आएका नागरिकहरूलाई क्वारेन्टाइनमा राख्ने कार्य नगरेको भने होइन । तर, क्वारेन्टाइनमा देखिएको असुविधा र लापरबाहीले झनै समस्या निम्त्याउँदै गयो । दिनहुँ लाखौंको संख्यामा भारतीय सीमा–नाका कटेर आउने नागरिकहरूलाई व्यवस्थित रूपले क्वारेन्टाइनमा राख्न सक्ने क्षमता सरकारले राख्न सकेन । पछिल्लो समय त क्वारेन्टाइनमा बस्न न त नागरिकहरू तयार देखिए, न त सरकारले पहिलाजस्तै कडाइ नै गर्न चाह्यो ।
सीमावर्ती सहर र बस्तीहरूले जुन समस्या झेलिरहेका छन्, बिस्तारै काठमाडौं उपत्यका पनि त्यही समस्या झेल्न बाध्य हुँदैछ । लकडाउन हटाएसँगै काठमाडौं उपत्यकामा संक्रमितको दर बढ्दो छ । मानिसहरूको बढ्दो चहलपहल र आवतजावतले संक्रमित दर बढ्दै गएको हो । लकडाउनका बेला एकाध मानिसहरू संक्रमित देखिए पनि अब त्यसले गति समात्दै छ । स्वास्थ्यकर्मीहरूले चेतावनी दिइरहेका छन् कि काठमाडौं उपत्यकामा संक्रमित दर बढ्दै जाने हो भने अस्पतालमा बेड पाउनसमेत मुस्किल पर्नेछ । तर, यस्तो चेतावनीलाई बेवास्ता गर्दै सरकारले लकडाउन हटायो र त्यसबाट परिस्थिति झनै भयावह र जटिल बन्ने दिशातिर उन्मुख देखिन्छ ।
लकडाउन हटेसँगै नागरिकहरूले पनि सावधानी अपनाउने कार्यमा हेलचेक्र्याइँ गरिरहेका छन् । १ सय २० दिनसम्म लकडाउनमा परेका नागरिकहरू खुला र उन्मुक्त देखिएका छन् । तर, यो उन्मुक्तिको परिणाम तीतो र मूल्यवान् हुन्छ भन्ने कुरा नागरिकहरूले सोच्न छाडिसकेका छन् । आवश्यक स्वास्थ्य सावधानी अपनाउने कार्यमा चुक्दै गइरहेका छन् । सरकारले लकडाउन हटाएपछि नागरिकहरूमा स्वास्थ्य सावधानी अपनाउने कार्यमा कमी देखिँदै गएको हुँदा यो महामारीले भयावह रूप लिन सक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ । समुदायमा संक्रमण फैलिन सक्ने सम्भावना बढ्दै गएकोप्रति सो संगठनले चिन्ता जनाएको छ र त्यस्तो परिस्थिति नआओस् भनेर सरकार र नागरिकलाई झक्झक्याउने काम गरेको छ ।
बढ्दो संक्रमण दरलाई हेर्दा अब हरेक नागरिकले सावधानी अपनाउनुको विकल्प देखिँदैन । ‘मेरो स्वास्थ्य मेरो हातमा छ’ भन्ने भावनालाई आत्मसात् र महसुस गरेर सावधानी अपनाउनु नै श्रेयष्कर हुने देखिन्छ । छैनन् अरू उपाय ।
सम्बन्धित समाचार
-
ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
-
आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply