आसेपासेलाई नै निजामती पुरस्कार
काठमाडौं । इमानदार, कर्तव्यनिष्ट र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूले पाउनुपर्ने निजामती पुरस्कार पछिल्ला वर्षहरूमा मन्त्री र उच्चपदस्थ कर्मचारीहरूका आसेपासे र नातेदारले पाउन थालेका छन् । स्थापनाका केही वर्षसम्म सो पुरस्कार निष्पक्ष रहे पनि त्यसपछिका वर्षहरूमा भने एकाध राम्रा कर्मचारीबाहेक आसेपासेहरूले पाउँदै आएका छन् ।
यो वर्ष पनि निजामती उत्कृष्ट पुरस्कार दिँदा नातावाद र आसेपासेको घेराभन्दा बाहिर जान सकेन । गएको भदौ २१ गते निजामती सेवा दिवसका अवसरमा १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिइने घोषणा गरिएको थियो । यो पुरस्कार २०६१ सालदेखि प्रदान गरिँदै आएको छ । उत्कृष्ट निजामती पुरस्कार पाउनेमा यो वर्ष काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल पनि परेका छन् । दाहाललगायत केही कर्मचारीहरूलाई पुरस्कृत गर्ने निर्णयको खासै विरोध नभए पनि कतिपयले भने उत्कृष्ट काम गरेका आधारमा नभई कसैको नातेदार वा आसेपासे भएका आधारमा पाएका हुँदा कर्मचारी वृत्तबाटै विरोध भएको छ ।
पुरस्कृत हुनेमा एउटै परिवारका सदस्य र नातेदारसमेत परेका छन् । ५० हजार रुपियाँको निजामती सेवा पुरस्कार पाउने सावित्री पौडेल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य छविन्द्र बेलवासेकी श्रीमती हुन् । उनकै जोडबलले पौडेल पुरस्कृत भएको बताइन्छ । बेलवासेकै नातेदार पर्ने खेमराज कोइरालाले पनि सो पुरस्कार पाएका छन् ।
विगत वर्षहरूमा पनि यो पुरस्कार विवादमा पर्दै आएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्य गौतमले पनि केही वर्षअघि उत्कृष्ट निजामती पुरस्कार पाएका थिए । उनी लोकसेवा आयोगमा सहसचिव हुँदा यो पुरस्कारबाट पुरस्कृत भएका थिए । तर, आयोगमा हुँदा उनले आफ्नी श्रीमतीलाई चिट चोराएर उत्तीर्ण गराएको हुँदा त्यसले निकै ठूलो हंगामा मच्चाएको थियो । त्यही प्रकरणमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरेको थियो । विवादित कर्मचारीहरूसमेत पुरस्कृत हुने भएको हुँदा यो पुरस्कारको गरिमा खस्किँदै गएको कर्मचारी वृत्तमै कुरा उठ्दै आएको छ ।
२०६१ सालमा निजामती सेवा ऐनमा पुरस्कारको व्यवस्था गरेअनुरूप हरेक वर्ष यो पुरस्कार दिइँदै आए पनि पुरस्कारको मापदण्ड नबनेका हुँदा मन्त्री र उच्चपदस्थ कर्मचारीहरूकै आसेपासे र नातेदारहरूले पुरस्कार पाउँदै आएका छन् । राज्यको कोषबाट पैसा खर्चिएर दिइने यो पुरस्कारको मापदण्ड बनाएर, राम्रो काम गर्ने कर्मचारीहरूलाई दिइनुपर्ने आवाज उठ्न थालेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply