आसेपासेलाई नै निजामती पुरस्कार
काठमाडौं । इमानदार, कर्तव्यनिष्ट र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूले पाउनुपर्ने निजामती पुरस्कार पछिल्ला वर्षहरूमा मन्त्री र उच्चपदस्थ कर्मचारीहरूका आसेपासे र नातेदारले पाउन थालेका छन् । स्थापनाका केही वर्षसम्म सो पुरस्कार निष्पक्ष रहे पनि त्यसपछिका वर्षहरूमा भने एकाध राम्रा कर्मचारीबाहेक आसेपासेहरूले पाउँदै आएका छन् ।
यो वर्ष पनि निजामती उत्कृष्ट पुरस्कार दिँदा नातावाद र आसेपासेको घेराभन्दा बाहिर जान सकेन । गएको भदौ २१ गते निजामती सेवा दिवसका अवसरमा १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिइने घोषणा गरिएको थियो । यो पुरस्कार २०६१ सालदेखि प्रदान गरिँदै आएको छ । उत्कृष्ट निजामती पुरस्कार पाउनेमा यो वर्ष काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल पनि परेका छन् । दाहाललगायत केही कर्मचारीहरूलाई पुरस्कृत गर्ने निर्णयको खासै विरोध नभए पनि कतिपयले भने उत्कृष्ट काम गरेका आधारमा नभई कसैको नातेदार वा आसेपासे भएका आधारमा पाएका हुँदा कर्मचारी वृत्तबाटै विरोध भएको छ ।
पुरस्कृत हुनेमा एउटै परिवारका सदस्य र नातेदारसमेत परेका छन् । ५० हजार रुपियाँको निजामती सेवा पुरस्कार पाउने सावित्री पौडेल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य छविन्द्र बेलवासेकी श्रीमती हुन् । उनकै जोडबलले पौडेल पुरस्कृत भएको बताइन्छ । बेलवासेकै नातेदार पर्ने खेमराज कोइरालाले पनि सो पुरस्कार पाएका छन् ।
विगत वर्षहरूमा पनि यो पुरस्कार विवादमा पर्दै आएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्य गौतमले पनि केही वर्षअघि उत्कृष्ट निजामती पुरस्कार पाएका थिए । उनी लोकसेवा आयोगमा सहसचिव हुँदा यो पुरस्कारबाट पुरस्कृत भएका थिए । तर, आयोगमा हुँदा उनले आफ्नी श्रीमतीलाई चिट चोराएर उत्तीर्ण गराएको हुँदा त्यसले निकै ठूलो हंगामा मच्चाएको थियो । त्यही प्रकरणमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरेको थियो । विवादित कर्मचारीहरूसमेत पुरस्कृत हुने भएको हुँदा यो पुरस्कारको गरिमा खस्किँदै गएको कर्मचारी वृत्तमै कुरा उठ्दै आएको छ ।
२०६१ सालमा निजामती सेवा ऐनमा पुरस्कारको व्यवस्था गरेअनुरूप हरेक वर्ष यो पुरस्कार दिइँदै आए पनि पुरस्कारको मापदण्ड नबनेका हुँदा मन्त्री र उच्चपदस्थ कर्मचारीहरूकै आसेपासे र नातेदारहरूले पुरस्कार पाउँदै आएका छन् । राज्यको कोषबाट पैसा खर्चिएर दिइने यो पुरस्कारको मापदण्ड बनाएर, राम्रो काम गर्ने कर्मचारीहरूलाई दिइनुपर्ने आवाज उठ्न थालेको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply