बढ्दो जोखिम, बढ्दो बेवास्ता
कोभिड–१९ को बढ्दो संक्रमणसँगै जोखिमले उच्च बिन्दु छोइसकेको छ । दिनहुँ संक्रमण दर बढ्दो छ । केही महिनापूर्व ३–४ सयको हाराहारीमा रहने संक्रमण दर अहिले २ हजारभन्दा कम हुन छाडेको छ । स्वास्थ्य केन्द्रहरूमा परीक्षण गराउनेको भीड बढेको बढ्यै छन् । संक्रमितहरू बढ्दै जाँदा अस्पतालहरूले बिरामीहरूको चाप थेग्न असमर्थ भइसकेका छन् । मृत्युदर पनि दिनहुँ बढिरहेको छ । भयावह परिस्थितितिर मुलुक लम्किरहेको संकेत गर्दैछ ।
पछिल्लो समय काठमाडौं उपत्यकामा धेरै संक्रमित देखिएका छन् । हरेक दिन ५० प्रतिशतभन्दा माथि संक्रमित हुनेहरू काठमाडौं उपत्यकाकै रहेका छन् । केही महिनापूर्व भारतसँग सीमा जोडिएका तराई–मधेसका जिल्लाहरूमा संक्रमण दर बढ्दो थियो । ती जिल्लाहरूमा स्वास्थ्य–सुरक्षा र सतर्कताको पालना कडाइका साथ नगरिएका हुँदा संक्रमण दर बढेको अनुमान लगाइएको थियो । खुला सीमा भएका कारण पनि भारतीय नागरिकहरूको आवातजावतका कारण मधेसका सीमावर्ती सहर÷बजारहरू कोभिड–१९ को चपेटामा परेका थिए ।
काठमाडौं उपत्यका अरू सहर÷बजारका तुलनामा सुरक्षित नै थिए र ठानिन्थे पनि । लामो समय लकडाउन, केही समय खुकुलो र त्यसपछि पुनः निषेधाज्ञाले गर्दा काठमाडौं उपत्यका जोखिमबाट परै थियो । तर, निषेधाज्ञा हटाएसँगै काठमाडौं कोभिड–१९ महामारीको केन्द्रबिन्दु बन्न पुगेको छ । सरकारले पनि शून्यप्रायः रहेको आर्थिक गतिविधि चलायमान बनाउने र नजिकिँदो चाडपर्वलाई ध्यानमा राखेर काठमाडौं उपत्यकामा खुकुलो तुल्याएको थियो । तर, अब भने सरकारको लचकता झन् महँगो पर्ने देखिँदैछ । दिनहुँ सयौंको संख्यामा संक्रमण देखिनुले यही पक्षको संकेत गर्दछ ।
काठमाडौं उपत्यका जनघनत्वको दृष्टिले अगाडि छ । जनघनत्व भएको ठाउँमा मानिसहरूको चहलपहल बढ्नु स्वाभाविकै हो । भीडभाड हुनु सामान्य हो । हरेक नागरिकलाई दैनिक किनमेल, कामकाजका निम्ति घरबाट निस्किनु अनिवार्यजस्तै हुन्छ । घरबाट बाहिर निस्किँदा तोकिएको स्वास्थ्य मापदण्डअनुरूप चल्न सरकारले आम नागरिकलाई बारम्बार आग्रह गरिरहेको सुनिन्छ । तर, कतिपयले स्वास्थ्य सावधानी अपनाए पनि कतिपयले भने न्यूनतम स्वास्थ्य–सुरक्षा र सतर्कतालाई बेवास्ता गरिएको प्रस्टै देखिन्छ । कुनै सामान किन्न बजार÷पसलमा जाँदा भीडभाडको वास्ता नगरी अग्रसर भएका थुप्रै दृष्टान्त देखिएका छन् । निश्चय नै स्वास्थ्य सचेतना भए पनि त्यसलाई बेवास्ता गर्ने कार्यमा स्वयं नागरिकहरू अग्रसर हुनु नै जोखिमलाई झन् बढाउन उद्यत हुनु हो ।
नेपालीहरूको मुख्य ठूलो पर्व दसैंले छोइसकेको छ । अबको १५–२० दिनपछि दसैं सुरु हुन्छ । दसैंको पूर्वसन्ध्यामा बजारमा भीड लाग्नु स्वाभाविकै हो । दसैंका निम्ति किनमेल गर्न बजारमा जाने चलनलाई कसले तोड्न सक्छ र ? अझ, व्यापारीहरूले पनि दसैंलाई लक्षित गरेर विभिन्न अफर ल्याउने गर्छन् । त्यसले आम उपभोक्तालाई लोभ्याउन र उनीहरूलाई बजारप्रति आकर्षित तुल्याउन भूमिका खेल्ने नै भयो । बजारमा सामान खरिद गर्न जानेहरूलाई ‘नजाऊ’ भनेर भन्न सकिने कुरा पनि रहेन ।
नेपालीहरूले दसैंलाई एउटा विशुद्ध पर्वका रूपमा मात्र लिँदैनन् । यो त अभिभावक र आफन्तहरूसँग भेटघाट गर्ने, जमघट हुने र मीठा–मीठा परिकारका परिवारका सदस्यहरू भेला भएर रमाउने पर्व पनि हो । दसैंको धार्मिक पक्षसँगै सांस्कृतिक पक्षहरू पनि गाँसिएका छन् । त्यही कारण, दसैंमा विदेशमा बस्नेहरू स्वदेशमा फर्किने, काठमाडौं उपत्यकामा बस्नेहरू आफ्नो पुख्र्यौली घरतिर जाने र उपत्यकामा घर भएर बाहिर रहेकाहरू उपत्यका भित्रिने क्रम बढ्दो हुन्छ । सबभन्दा धेरै त काठमाडौं उपत्यका छाडेर जानेहरू हुन्छन् ।
कोभिड–१९ को जोखिम दिनप्रतिदिन बढ्दै गएको र पछिल्लो समय काठमाडौं उपत्यका यो महामारीको केन्द्रबिन्दु बन्दै गएको हुँदा दसैँमा काठमाडौंबाट बाहिरिने र भित्रिनेहरूका कारण संक्रमणले चुली नछोला भन्न सकिँदैन । भन्न त सरकारी अधिकारीहरूले ‘जहाँ छौँ, त्यही नै दसैं मनाऔं’ भनेर आह्वान गरेका छन् । तर, यो आह्वान लागु हुने संकेत देखिँदैन । पर्याप्त स्वास्थ्य–सुरक्षा र सतर्कता नअपनाई कोभिड–१९ को महामारी रोकिने र जोखिम कम हुने सम्भावना देखिँदैन । चाडपर्वको बेलामा महामारी झनै बढ्ने सम्भावना देखिएको हुँदा सरकारको पहिलो प्राथमिकता नै त्यसलाई कसरी नियन्त्रण गर्ने भन्नेमा केन्द्रित हुनु आवश्यक छ ।
सम्बन्धित समाचार
- ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
- आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply