निजामती निर्वाचन अझै अन्योलमा
काठमाडौं । स्थगित भएको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन आगामी मंसिर २७ गते तोकिए पनि निर्धारित मितिमा निर्वाचन हुनेमा अन्योल देखिएको छ । यसअघि जुन कारणहरू देखाएर निर्वाचन रोकिएको थियो, ती कारणहरू यथावत् रहेकै अवस्थामा निर्वाचनको मिति घोषणा गरिनुले अन्योल बढेको हो ।
यसअघि आधिकारिक ट्रेड युनियनको निर्वाचन असोज २४ गतेलाई तोकिएको थियो । तर, कोरोना महामारीको बढ्दो संक्रमण, २ नम्बर प्रदेशको मुख्यमन्त्रीको समेत विरोध र पूर्वएमाले र माओवादी केन्द्रसमर्थक कर्मचारी संगठनबीच अझै एकता नभइरहेको लगायत कारण देखाएर निर्वाचन स्थगित गरिएको थियो । निर्वाचन स्थगित भएपछि सत्तासमर्थक कर्मचारी संगठनका प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कुराकानी गरेका थिए । प्रधानमन्त्री ओलीले उपयुक्त समयमा निर्वाचन हुने आश्वासन दिएका थिए । फलस्वरूप स्थगित भएको निर्वाचनको मिति आगामी मंसिर २७ गते तय भएको हो ।
असोज २४ गते मिति तोकिए पनि कोरोनाको महामारी झनै बढ्दै थियो । कोरोनाकै कारण कतिपय कर्मचारीहरू संक्रमित हुनुका साथै कार्यालयहरूसमेत नै बन्द गर्नुपर्ने अवस्था आएको थियो । कोरोनाको जोखिमबीच निर्वाचन गराउन उपयुक्त नहुने देखिए पनि निर्वाचन स्थगित गरिएको थियो । असोज २४ गते निर्वाचन नहुनुको अर्को कारण चाहिँ २ नम्बर प्रदेशको मुख्यमन्त्री लालबाबु राउतको निर्वाचन रोक्न संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई पठाएको पत्र पनि रहेको थियो । २ नम्बर प्रदेशका कर्मचारीहरूले प्रदेश सरकारसामु आधिकारिक टे«ड युनियनको निर्वाचन रोक्न अपिल गरेपछि मुख्यमन्त्रीले सामान्य प्रशासन मन्त्रीलाई पत्र पठाएका थिए ।
सो प्रदेशका निजामती कर्मचारीहरूले थ्रेसहोल्ड हटाउनुपर्ने माग गर्दै आएका थिए । निर्वाचनमा १० प्रतिशत मत ल्याउने कर्मचारी संगठनहरूले मात्रै मान्यता पाउने भएको व्यवस्था गरिएको हुँदा कतिपय संगठनहरूले अघिल्लो निर्वाचनमा त्यति प्रतिशत मत पनि ल्याउन नसकेको हुँदा थ्रेसहोल्डको व्यवस्था खारेज गर्नुपर्ने माग राख्दै आएका छन् । यदि थ्रेसहोल्ड राखे पनि १० प्रतिशतबाट झारेर ३ प्रतिशत मात्रै राख्नुपर्ने उनीहरूको माग छ । २ नम्बर प्रदेशका कर्मचारीहरूको मागबमोजिम मुख्यमन्त्री राउतले सामान्य प्रशासन मन्त्रीलाई पत्र पठाएपछि निर्वाचन स्थगित भएको थियो ।
अढाइ वर्षअघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भएर अरु जनवर्गीय संगठनहरूबीच एकता भइसके पनि यी दुई पार्टीसम्बद्ध निजामती कर्मचारीहरूको संगठनबीच भने अहिलेसम्म एकता हुन सकेको छैन । पूर्वएमाले समर्थक नेपाल निजामती कर्मचारी संगठन र पूर्वमाओवादी केन्द्र राष्ट्रिय कर्मचारी संगठन (राकस) बीच एकता नहुँदा पनि निर्वाचन स्थगित हुन पुगेको थियो । पार्टी एकता भएपछि निजामती कर्मचारी संगठनहरूबीच एकता हुने कुरा उठेदेखि नै राकसले ४० प्रतिशत सिट माग्दै आएको छ । तर, पूर्वएमाले समर्थक कर्मचारी संगठनले भने राकसको सो मागलाई अस्वीकार गर्दै आएको छ ।
२०७३ सालमा भएको आधिकारिक टे«ड युनियनको निर्वाचनमा राकसले १९ प्रतिशत मात्रै मत ल्याएको हुँदा कर्मचारी संगठनबीच एकता गर्दा ३० प्रतिशत मात्रै दिने कुरा पूर्वएमाले समर्थक कर्मचारी संगठनले गर्दै आएको छ । उक्त निर्वाचनमा पूर्वएमाले समर्थक कर्मचारी संगठन एक्लैले ३८ प्रतिशत मत ल्याएको थियो ।
जे–जे कारणहरू देखाएर असोज २४ को निर्वाचन स्थगित गरिएको थियो, अहिलेसम्म पनि ती सबै कारण यथावत् नै छन् । कोरोना महामारी झनै बढिरहेको छ भने थ्रेसहोल्डको प्रावधानबारे कुनै सम्बोधन गरिएको छैन । सत्तारूढ दलका दुई कर्मचारी संगठनबीच पनि एकता हुन सकेको छैन । यस्ता अन्योलबीच निर्वाचनको मिति तोकिएको हुँदा त्यसले झनै अन्योल बढाएको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply