चितवनमा देखिएको गैरराजनीतिक चरित्र
केही दिनपूर्व सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेमाथि हुलहुज्जत गर्ने काम भयो । चितवनको पार्टीको एक कार्यक्रममा भाग लिएका बेला उनीमाथि केही अराजक भीडले उनीविरुद्ध नाराबाजी गर्ने काम ग¥यो । विडम्बना, पाण्डेविरुद्ध नाराबाजी गर्ने कुनै विरोधी राजनीतिक खेमाका मानिसहरू थिएनन्, उनकै पार्टीका कार्यकर्ताहरू थिए । भद्र र शालीन स्वभावका नेता पाण्डेविरुद्ध हुलहुज्जत हुनुको तात्पर्य अरू केही थिएन, उनी नेकपाको एउटा पंक्तिका नेता थिए र उनले आफ्नो धारणा राखेका थिए । तर, उनको धारणा केही अराजक कार्यकर्ताहरूले पचाउन सकेनन् र त्यसको वैचारिक हिसाबले प्रतिवाद गर्नुको साटो नाराबाजीमा उत्रिए ।
लामो समयदेखि सत्तारुढ नेकपाको शीर्ष नेतृत्वबीच चुलिएको अन्तरद्वन्द्वको प्रतिविम्बका रूपमा चितवनको घटनालाई लिन सकिन्छ । केन्द्रीय तहमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीलाई विधि र पद्धतिअनुरूप सञ्चालन गर्ने विषयमा वैचारिक अन्तरद्वन्द्व चर्किँदै आएको छ । सुरुमा चुलिएको विवाद साम्य भए पनि पछिल्लो समय फेरि बल्झिन पुगेको थियो र त्यस विवादको अझै निरूपण हुन सकेको छैन । शीर्ष नेतृत्वबीच मतभेदको शृंखला हिन्दी धारावाहिक टेलिसिरियलहरू झैं नयाँनयाँ एपिसोडहरूका रूप लिँदै चलिरहेको छ । केही दिनअघि चितवनमा भएको दुःखद र निन्दनीय घटना केन्द्रीय तहमा दोहोरिइरहेको त्यही शृंखलाको स्थानीय कडी हो ।
चितवन घटनाले एउटा प्रश्न उब्जाएको छ– के धुरीमा सल्किएको आगो अब भुइँसम्मै आउन लागेको हो ? यदि त्यसो हुन थालेको हो भने यो दुर्भाग्यको विषय हो । विदितै छ, नेकपाभित्र गुट छ । गुटको उद्भव आज मात्रै भएको होइन । पहिला पनि थियो र आज पनि छ । कहिले गुटहरू निकै मुखरित हुन्छन् र विवादका शृंखलाहरू जन्मिन्छन् । कहिले गुटहरू प्रभावहीन देखिन्छन् र पार्टीभित्रको विवाद सतहमा आउँदैनन् । सत्तारुढ नेकपा मात्र होइन, अस्तित्व रहेका अरू राजनीतिक दलहरू पनि गुटले आक्रान्त छन् । अहिलेको परिस्थितिमा गुटनिरपेक्ष राजनीतिक दलको कल्पना गर्नु व्यर्थ छ । साथै, केन्द्रमा भएको गुटको प्रतिविम्ब स्थानीय तहसम्म पनि देखिन पुगेको छ ।
नेकपाभित्र गुटहरू छन् । केही समययता नेतृत्व तह वैचारिक एवं सैद्धान्तिक अन्तरद्वन्द्वमा अल्झिएका छन् । त्यो अन्तरद्वन्द्व कहिले मत्थर देखिन्छ भने कहिले सामुद्रिक तुफान झैं बलशाली देखिन्छ । केन्द्रीय तहमा देखिएको विवादबारे नेताहरूले स्थानीय तहका कार्यकर्ताहरूलाई सुसूचित तुल्याउनु, आफ्नो स्पष्ट धारणा राख्नु स्वाभाविकै हो । चितवनमा पुगेर नेता पाण्डेले पनि त्यही भूमिका निर्वाह गरेका थिए । उनी त्यहाँ पार्टी विभाजनको एजेन्डा बोकेर गएका थिएनन् । पार्टीभित्र उत्पन्न विवादको सार पस्किने कार्य उनीबाट भएको थियो । तर, उनको धारणा कतिपय कार्यकर्ताहरूलाई सुपाच्य हुन सकेन र अप्रिय परिस्थिति सिर्जना हुन पुग्यो । यद्यपि, यो घटनाले नेकपाभित्र अराजक एवं विचारशून्य कार्यकर्ताहरूको पंक्ति निर्माण हुँदै जान थालेको त होइन ? भन्ने गम्भीर प्रश्न चाहिँ निश्चित रूपमा उठाएको छ । किनभने, नेता पाण्डेले उठाएका सवालहरूमा नाराबाजीमा उत्रिएका कार्यकर्ताहरूले प्रतिप्रश्न गर्न सक्थे, उनीहरू बहसमा सामेल हुन सक्थे । आफूलाई चित्त नबुझेका विषयहरूमा प्रश्न गर्ने छुट र स्वतन्त्रता ती अराजक कार्यकर्ताहरूलाई पक्कै पनि थियो । तर, नाराबाजी र होहल्ला गरेर गैरराजनीतिक चरित्र प्रदर्शन गर्ने र आफ्नो महानता देखाउने निच एवं निन्दनीय कार्यमा ती कार्यकर्ताहरू उत्रिएको स्वतः पुष्टि हुन्छ ।
चितवन घटनापछि ‘काल पल्किएकोमा’ मा चिन्ता गर्नुपर्ने देखिन्छ । यदि आगामी दिनहरूमा यसरी नै, चितवनमा जस्तै अरू ठाउँहरूमा पनि एउटा समूहका कार्यकर्ताले अर्को समूहका नेताविरुद्ध नाराबाजी गर्ने, निषेधको नीति अपनाउने हो भने स्थिति के होला ? नेकपा कुनै राजनीतिक दल नभएर अराजकहरूको भीडमा परिणत हुन पुग्छ । चितवन घटनालाई नेतृत्वले ‘टे«लर’ का रूपमा बुझेर आगामी दिनमा पार्टीलाई अराजकहरूको भीडबाट जोगाउने र अनुशासित कार्यकर्ताहरूको पार्टी बनाउनेतिर लाग्ने बुद्धिमानी अपनाउनु नै बेस हुन्छ । आज एकजना नेतामाथि हुलहुज्जत हुँदा अर्को समूहका नेताहरू रमाउने र काखी मच्चाउने कार्य गर्नु कतिसम्म उचित होला ?
सम्बन्धित समाचार
- ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
- आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply