जननिराशालाई चिर
केही दिनपूर्व, तराईका केही मुख्य सहरहरूमा पूर्वराजावादीहरूले राजतन्त्रको पुनःस्थापना र हिन्दु राष्ट्रको एजेन्डा बोकेर प्रदर्शन गरे । विराटनगर, जनकपुर, बुटवल र धनगढीलगायत सहरहरूमा प्रदर्शनहरू भए । केही वर्षयता प्वालभित्र गुडुल्किएर बसेका सर्पजस्तै देखिएका राजावादीहरू पुनः एकपटक सल्बलाउनुलाई नेपाली राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा लिइएको छ । पुनरुत्थान, यथास्थिति र प्रतिक्रियावादी शक्तिहरू चुप लागे पनि उपयुक्त समयको खोजीमा हरेक समय जुटिरहेका हुन्छन् भन्ने दृष्टान्त पछिल्ला दिनहरूमा राजावादीहरूले गरेका प्रदर्शनलाई हेरे पुग्छ । साथै, केही दिनअघिको राजावादीहरूको प्रदर्शन पूर्ण आन्तरिक तयारीपछि निकालिएको हो भन्ने पनि स्वतः पुष्टि हुन्छ ।
निश्चित रूपमा, २०६२÷०६३ को जनआन्दोलनपछि राजतन्त्र र हिन्दु राष्ट्र किनारा लाग्ने आधारहरू तयार भयो । तत्कालीन राजा ज्ञानेन्द्र शाहको निरंकुश कदमप्रति असहमत राजनीतिक दलहरूले आव्हान गरेको जनआन्दोलनले सफलता पाएलगत्तै राजतन्त्रका दिनगन्ती सुरु भए र २०६५ साल जेठदेखि राजतन्त्रलाई सदाका निम्ति नेपाली जनताले विधिवत् रूपमा बिदाइ गरे । हिन्दु राष्ट्र पनि हट्यो र धर्मनिरपेक्षता लागु हुन पुग्यो । राजा ज्ञानेन्द्र पनि सामान्य नागरिकको हैसियतमा ओर्लिए । तर, पूर्वराजा ज्ञानेन्द्र र राजावादीहरू निदाएको भ्रम फैलिए पनि उनीहरू आफ्ना एजेन्डामा अझसम्म दृढ रहेछन् भन्ने उदाहरण पछिल्ला घटनाक्रमले देखाएको छ ।
राजतन्त्र र हिन्दु राष्ट्र अब इतिहासको विषय बनिसक्यो । अब यो पाठ्यपुस्तकहरूमा पढाइ हुन सुहाउने विषय मात्र हो । तर, राजतन्त्र फालिएपछि र धर्मनिरपेक्षता लागु भएपछि पनि राजावादीहरूले भने राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डालाई पटकपटक उठाउँदै आएका थिए । पछिल्लो समय भने राजावादीहरूले यी दुई एजेन्डालाई केही प्रदर्शन गरेर पुनः उठाउने काम गरेका छन् । तर, यतिबेलै किन राजावादीहरू सल्बलाउन थालेका हुन् त ? यो प्रश्नको निरूपण गर्न आवश्यक छ ।
धमिलो पानीमा माछा मार्न जोकोही उद्यत् हुन्छन् नै । निश्चय नै, यतिबेला नेपाली राजनीति केही धमिलै छ । मूलतः दुई तिहाई समर्थनप्राप्त सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी घरझगडामा व्यस्त छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शृंखलाबद्ध रूपमा वाक् युद्ध चर्किएको छ । करिब नौ–दस महिनायता नेकपाभित्र सल्किएको झगडाको आगो निभ्ने होइन, झन्झन् दन्किँदो अवस्थामा छ । पार्टीभित्रको विवादको असर सरकार सञ्चालनमा समेत पर्नु स्वाभाविक हो । पार्टी–विवादको प्रतिविम्ब परेकै कारण सरकारले अपेक्षाकृत रूपमा गति लिन सकेको छैन । अझ, कोरोनाको व्याधी सुरु भएयता त सरकारले जनअपेक्षा अनुरूप काम गर्न सकेको छैन । बरु, सरकार जवाफदेहिता र जिम्मेवारीपनमा नराम्ररी चुक्दै गएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि ‘हाँसको चाल न बकुल्लाको चाल’ जस्तो देखिएको छ । देशमा प्रतिपक्षी दल छ भन्ने आभास नै देखिँदैन । महाधिवेशनको तयारीमा जुटेको कांग्रेस पनि घरझगडामै व्यस्त छ । अरु राजनीतिक दलहरूका गतिविधिहरू पनि सुस्त देखिएका छन् । सम्भवतः सत्तारूढ दलमा उब्जिएको तीव्र विवाद, प्रमुख प्रतिपक्षी दलको भूमिकाविहीनता र अरू राजनीतिक दलहरूको शून्य उपस्थितिको फाइदा उठाएर प्रतिगमनका मतियारहरू सल्बलाएका हुन् भन्नुमा कुनै सन्देह छैन ।
निश्चय नै, सत्तारूढ दलभित्र देखिएको विवादका कारण पछिल्लो समय जनपंक्तिमा नैराश्यता उत्पन्न हुन पुगेको छ । विगतमा निर्वाचन हुँदा नेकपाले जनपंक्तिलाई निकै आश्वस्त तुल्याएको थियो । जनतालाई विश्वस्त र आश्वस्त पारेकै कारण नेकपाले अपार सफलता बटुल्न सकेको हो । तर, चुलिँदो जनअपेक्षालाई सम्बोधन गर्नुको साटो घरझगडामै अल्झिन थालेपछि भने जनता सत्तारुढ दलप्रति निराश भएका छन्, यतिबेला । जनतामा पलाउँदै गएको निराशाको घना कुहिरोलाई पन्छाउनतिर सत्तारूढ दलले उल्लेख्य पहलकदमी गरेको छैन । यिनै कारण, यतिबेला राजनीतिक तरलताको फाइदा उठाउन पूर्वराजावादीहरू उद्यत देखिएकोमा कुनै दुईमत देखिँदैन । उनीहरूले धमिलो पानीमा माछा मार्ने कार्यमा अग्रसरता लिएकोमा कुनै शंका छैन ।
पूर्वराजावादीहरूको सल्बलाहट र उनीहरूमा देखिएको उत्साहलाई विचार गरेर सत्तारूढ दल र प्रमुख प्रतिपक्षीलगायत दलहरूले बेलैमा सोच्नु आवश्यक छ । मूलतः यतिबेला राजनीतिक दलहरूले घरझगडालाई थाती राखेर जनतामा उत्पन्न निराशालाई चिर्नतिर कदम चाल्नु आवश्यक छ । जनतामा व्याप्त निराशाको ‘ग्राफ’ बढ्दै गयो भने त्यसले विस्फोटक रूप लेला भन्न सकिन्न । बेलैमा सद्बुद्धि र सचेतना पलाए पक्कै घाटा नहोला ।
सम्बन्धित समाचार
- ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
- आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply