रिद्धिसिद्धि सिमेन्टले लगायोे उठीबास
मकवानपुर । हेटौंडाको रातोमाटेमा खुलेको रिद्धिसिद्धि सिमेन्ट उद्योगले खानी प्रभावितहरूको उठीबास लगाएको छ । अबौंको लगानीमा सञ्चालित सो उद्योगले मकवानपुरको राक्सिराङ–४ मा खानीबाट कच्चा पदार्थ ओसार्ने गर्दै आएको थियो । उद्योगले केही स्थानीयको जग्गासमेत सस्तो मूल्यमा किने पनि एकमुष्ट भुक्तानीसमेत दिएको छैन । त्यति मात्र होइन, घरछेउमा डोजर चलाउन थालेपछि खानी प्रभावित बासिन्दाको भागाभाग भएको छ । आफ्नो आवाज सुनुवाइ गरिदिन जनप्रतिनिधि नै कम्पनीको पक्षमा लागेपछि स्थानीय निमुखा जनताको बिजोग भएको छ ।
स्थानीयहरूले आफ्नो गुनासो मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसमक्ष राखेपछि उनले खानी क्षेत्रको निरीक्षण गरेका छन् । सीडीओसहितको टोलीले रिद्धिसिद्धि सिमेन्ट उद्योगको खानी अनुगमन गरेपछि सो टोलीले पनि खानी सञ्चालनका क्रममा स्थानीय विस्थापित हुन थालेको ठहर गरेको छ । उद्योगले एक सातादेखि खानी उत्खननको काम गरिरहेको छ । स्थानीयवासीको उचित व्यवस्थापनबिना नै खानी सञ्चालन गरेपछि गिङ्ङु क्षेत्रका करिब एक दर्जन परिवार विस्थापित भइसकेका छन् ।
अन्य करिब एक दर्जन परिवारले गाउँ छाड्नुपर्ने अवस्था आएको स्थानीय बलराम चेपाङले बताए । आगनमा डोजर चल्न थालेपछि कसरी बस्ने भन्ने समस्या हुनुका साथै गाउँ नै छाड्नुपर्ने अवस्था आएको उनीहरू बताउँछन् ।
उद्योगलाई न्यून मूल्यमा जग्गा बिक्री गरेका स्थानीयले पटकपटक गरी प्राप्त रकम खर्च गरिसकेका छन् । घरबारीमा खानी सञ्चालन भएपछि उनीहरूले अन्यत्र विकल्प नहुँदा गाउँ छाड्न सकेका छैनन् । केहीले थोरै पैसा लिएर छाडे पनि केहीले अझै पैसा नपाएको बताइएको छ । प्रभावितहरू केही लाखापाखा लाग्दा बाँकी रहेकालाई बस्न पनि गाह्रो भएको स्थानीय राममाया चेपाङले बताइन् । उद्योगले छिट्टै पैसा दिए ज्यान धरापमा पारेर नबस्ने र सो ठाउँ छोड्ने उनको सोच छ ।
स्थानीय जनप्रतिनिधिहरूले प्रभावित बासिन्दालाई कुनै जानकारी नै नदिई उद्योगसँग सहमति गरेर खानी सञ्चालन गर्न दिएको स्थानीयवासीको आरोप छ । उक्त खानी सञ्चालन हुँदा उद्योगको तल्लो क्षेत्रमा बसोबास गर्दै आएका ६५ परिवार विस्थापित हुने र २५ हेक्टर जमिन प्रभावित स्थानीयको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी रिजालले उद्योग व्यवस्थापनलाई स्थानीयवासीको उचित माग सम्बोधन गरेर खानी सञ्चालन गर्न भनेका छन् । उनले अनुगमनका क्रममा उद्योगका प्रतिनिधिलाई भने, ‘खानी नै भएको क्षेत्रको जनता त यहाँ बस्न सक्ने कुरा भएन, छेउछाउका प्रभावितहरूको कुरा के हो,’ उनले भने, ‘प्रभावितहरूको उचित माग सम्बोधन गरेर खानी सञ्चालन गर्नुहोला ।’
स्थानीयहरूले चलनचल्तीको मूल्यमा उद्योग आफैंले स्थानीयको जमिन खरिद गर्नुपर्ने, जग्गा बिक्री गर्दा १० लाख रूपैयाँभन्दा कम रकम प्राप्त हुनेहरूलाई अन्यत्र पुनर्बास गराउनुपर्नेलगायत माग गरेका छन् । तर उद्योगले भने स्थानीयको माग पूरा गरेरै खानी सञ्चालन गरेको दाबी गरेको छ । विपन्न चेपाङ र तामाङ बसोबास रहेको उक्त क्षेत्रमा अधिकांश व्यक्तिको जग्गा बिचौलियामार्फत उद्योगले जग्गा खरिद गरिरहेको छ । उधारो जग्गा बिक्री गरेका एक दर्जन बढी स्थानीयले हालसम्म पैसा पाएका छैनन् । अनुगमनका क्रममा स्थानीयवासी तथा बाग्मती प्रदेशसभा सदस्य ओमबहादुर घलान र ४ नम्बर वडा अध्यक्ष सञ्जय कोइरालाले उद्योगसँग भएको सहमति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए । अहिले सो कम्पनीको चेयरमेन शंकरलाल अग्रवाल र निर्देशकहरू शोभाकर न्यौपाने र सहिल अग्रवाललगायत छन् । सिमेन्ट उद्योगको खानी प्रभावित क्षेत्रका बासिन्दालाई जनप्रतिनिधिलले नै विस्थापित गर्न भूमिका खेलेको आरोप लागेको छ । खानीको समस्याबारे छलफल गर्न ४ नम्बर वडास्थित चौकीटारमा जम्मा भएका गाउँलेहरूले दिनभर कुर्दा पनि कोही जनप्रतिनिधि नआउँदा निरास भएर आ–आफ्नो घर फर्कन बाध्य भएको स्थानीय जनसरोकार समितिका अध्यक्ष गोपाल तामाङले बताए । यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरू र केही राजनीतिक पार्टीका नेताहरूले करिब एक महिनाअघि रिद्धिसिद्धि सिमेन्ट उद्योग व्यवस्थापनसँग ११ बुँदे सहमति गरेका थिए । खानी प्रभावित स्थानीयलाई थाहै नदिई गाउँलेको हितविपरीत सम्झौता गरेको भन्दै स्थानीयहरूले विरोध गरेका थिए । गाउँलेको विरोधपछि प्रमुख जिल्ला अधिकारी रिजालसहितको उपस्थितिमा भएको छलफलमा सोमबार प्रभावित स्थानीयसँग जनप्रतिनिधिहरूले छलफल गरी स्थानीयहरूको मागबारे छलफल गर्ने सहमति भएको थियो । जनप्रतिनिधिहरूसमेत प्रभावित जनताको समस्याबाट भागेको भन्दै स्थानीयवासीले कानुनी उपचारका लागि अदालत जाने बताएका छन् । उद्योगसँग जनप्रतिनिधिहरूकै मिलेमतो भएपछि अब स्थानीयको पक्षमा बोलिदिने कोही नभएको बताइएको छ ।
खानी प्रभावित बासिन्दाहरूले उचित मूल्यमा जग्गा खरिद गरी आफूहरूलाई अन्यत्र बसोबासको व्यवस्था मिलाइदिनुपर्ने, उद्योग आफैंले जमिन खरिद गर्नुपर्ने, जग्गा बिक्री गर्दा १० लाख रूपैयाँभन्दा कम रकम प्राप्त हुनेहरूलाई अन्यत्र पुनर्वास गराउनुपर्ने, घरजग्गा बिक्री गरेर पनि अन्त्रय व्यवस्थापन नभएकाहरूको घरबारीमा तत्काल डोजर लगाउन नहुनेलगायत माग छन् । उद्योगले जनप्रतिनिनिधसँग भएको सम्झौताअनुसार एक सातादेखि खानी सञ्चालन गरी सोमबारबाट चुन ढुंगा उद्योगमा ल्याउन सुरु गरेको छ । घरबारीमा खानी सञ्चालन भएपछि सुकुम्बासी बनेका उनीहरूले अन्यत्र विकल्प नहुँदा गाउँ छाड्न सकेका छैनन् । उक्त खानी सञ्चालन हुँदा उद्योगको तल्लो क्षेत्रमा बसोबास गर्दै आएका ६५ परिवार विस्थापित बन्ने र २५ हेक्टर जमिन प्रभावित हुने स्थानीयको भनाइ छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply