घुर्की होइन, संयमता र साहस
नेपाली राजनीतिमा अहिले अन्यन्तै लाजमर्दो परिदृश्यहरु देखापरिरहेका छन् । विकास र समृद्धिको बाधक पञ्चायती व्यवस्था भनियो । आन्दोलन भयो, प्रजातन्त्र आयो । प्रजातन्त्र प्राप्तिपछिको दुई दशक लामो समयमा समृद्धिको जग खन्ने काम हुन त धेरै परको कुरा झन्झन् मुलुक ‘कु’ शासनतर्फ अग्रसर बन्यो । विकासका कुनै काम भएनन् । भ्रष्टाचार व्याप्त भयो । यसको कारण अस्थिर सरकारलाई देखाइयो । राजनीतिक अस्थिरताको भजन गाउँदै राजनीतिक दलहरुले जनमत आफ्नो पक्षमा पार्ने हरसम्भव प्रयत्न गर्दै आए । गणतन्त्र स्थापनापछि पहिलोपटक गत निर्वाचनमा कम्युनिस्ट पार्टी नेकपाले झन्डै दुई तिहाइको जनमत प्राप्त गर्यो । मुलुकमा स्थिर सरकार निर्माण भयो, त्यो पनि कम्युनिस्टहरुको हो । स्वाभाविक रुपमा, आम जनतामा खुसीको लहर देखा पर्यो । समृद्धिको सपना पूरा हुने आत्मविश्वास बढेर गयो ।
तर, वर्तमान सरकार गठन भएको झन्डै तीन वर्ष पुग्न लाग्दै पनि समृद्धिका ठोस कुनै काम हुन सकेनन् । पछिल्लोपटक सत्तारुढ दलभित्रै देखिएको कचिंगलले आम जनताको अनुहारमा निराशाको कालो पोतिदिएको छ । यो सरकारलाई जति काम गर्ने सुविधा पछिल्लो तीन दशकको अवधीमा कहिल्यै कुनै सरकारलाई प्राप्त भएको थिएन । जुनसुकै निर्णय गर्न अरु दलको साहारा लिनुपर्ने बाध्यता यो सरकारलाई थिएन । निर्बाध काम गर्न र विकासको कामलाई गति दिन सुनौलो अवसर यो सरकारसँग थियो । त्यही भएर गत निर्वाचनको मत परिणाम प्राप्त भएसँगै अवको ५० वर्ष नेपालको राजनीतिमा नेकपाले राज गर्ने अनुमान धेरैको थियो । कम्युनिस्टको एकलौटी सरकार बन्ने भयो, त्यसै पनि काम गरिहाल्छ, अब अरु पार्टीले अस्तित्व जोगाउनै मुस्किल पर्छ भन्ने धारणा जनजनमा थियो । तर, परिस्थिति ठ्याक्कै उल्टो हँुदै गएको छ । म नै सर्वेसर्वा हुँ भन्ने सरकार प्रमुखका अधिनायकतावादी सोचले एक्काइसौं शताब्दीमा दलहरु विधिसम्मत सञ्चालन हुन सामूहितालाई सम्मान गर्नुपर्ने मान्यतालाई गिज्याइरहेको छ । लोकतान्त्रिक व्यवस्था बलियो हुन पहिले पार्टीहरुको चरित्र लोकतान्त्रिक हुनु जरुरी हुन्छ भने लोकतान्त्रिक पार्टी त्यतिबेला जीवन्त र गतिशील हुन्छ, जतिबेला त्यहाँ वैचारिक अन्तरसंघर्ष, बहस, छलफलपश्चात् सामूहिकतामा निर्णय हुन्छ र त्यो निर्णयको आम नेताकार्यकर्ताले अक्षरशः पालना गर्छन् । तर, नेकपाभित्र यो लोकतान्त्रिक चरित्र स्खलित हुदै जानु नेकपाको मात्र होइन, मुलुककै भविष्यका लागि खतरनाक छ ।
लाजमर्दो कुरा, पार्टीको बैठक नै बसाउन नमान्ने, बैठक बसे अध्यक्ष आफैं उपस्थित नहुने, आलोचना नसुन्ने अवस्थाले दुर्घटना निम्त्याउनेबाहेक अरु कुनै परिणाम दिँदैन । पार्टी कमिटीमा हुने छलफलबाट भागेर समस्याले निकास पाउँदैछ । समस्यामाथि छलफल भएर निस्कने निष्कर्षले मात्र पार्टीलाई जोगाउँछ भन्ने कुरालाई नेकपाको नेतृत्व बोध गर्नैपर्छ । म सर्वेसर्वा होइन, हामी भन्ने संस्कृतिलाई सम्मान गर्ने सामूहिकता प्रदर्शन गर्नुपर्छ । सरकारले गरेका कामको जस प्रधानमन्त्री आफूले होइन, पार्टीलाई दिने राजनीतिक संस्कार विकास गर्नुपर्छ । नराम्रा कामको भागीदार पनि पार्टी नै हुनुपर्छ ।
अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद हामीले विकास गरेको संरचनाका कारण उत्पन्न भएको हो । एक वा दुई÷व्यक्ति मातहतको भीडजस्तो संरचना बनायौं । त्यसले आजको नेपाली समाजको भावनालाई अभिव्यक्त गर्ने र त्यसलाई दिशा दिने काम गर्दैन ।
यो झगडा पनि राज्य र पार्टी वीचको हुनुपर्ने समन्वयलाई पार्टीबाट राज्यका शत्तिमा पुगेकाहरुले देखाएको अरुचि, उपेक्षा, उदासीनता आदिको कारणले उत्पन्न भएको हो । अहिले पार्टी करिबकरिब ‘डिफ्रिज’ जस्तो अवस्थामा छ । अढाइ वर्ष हुँदासम्म पार्टी एकताले पूर्णता पाएको छैन । सरकार र पार्टीबीच समन्वय नभएकै कारण यो काम हुन सकेको छैन । सत्तामा बस्नेहरुले पार्टीलाई नजर अन्दाज गरे । राज्य र पार्टीबीच कामको तालमेल सत्तामा रहेकाहरुको प्राथमिकतामा नै परेन ।
अब नेकपाको पुरानो नेतृत्व आफूलाई दम्भी देखाउने हैन । आफूहरुको योगदान र पसिनाले बनेको यो पार्टीसामु लाखौं कार्यकर्ता र करोडौं जनताको भविष्य जोडिएको छ भन्ने मनन गरेर निर्णय गर्नुपर्छ । त्यसका लागि आफूलाई स्वार्थको केन्द्रमा राख्ने गल्ती दोहार्याउनुहँुदैन । जनता र कार्यकर्ताको स्वार्थलाई केन्द्रमा राख्ने हो भने नेतृत्व हस्तान्तरणको विवेकपूर्ण साहस गर्न सक्नुपर्छ । पुरानो नेतृत्वले विगतका अनेक राजनीतिक परिवर्तनका निम्ति जुनअगुवाइ गर्यो, त्यो सराहनीय छ । तर, आजको नेपाली समाजलाई नेतृत्व गर्न ०४६ सालपछि विकसित भएको नेतृत्वलाई बिदा गरेर नयाँ नेतृत्व ल्याउनुपर्छ । व्यक्ति प्रधान नेतृत्वको ढाँचाको सट्टामा सामूहिकतालाई बोक्ने, अँगाल्ने ढाँचामा जानुको विकल्प छैन । पार्टीभित्र रहेका असल, सामाजमा रुचाइएका, पार्टीप्रति प्रतिबद्ध, बफदार, इमानदार मान्छेको सामूहिक नेतृत्व विकास गर्नैपर्छ । यसको प्रक्रिया भनेको फेरि पनि महाधिवेशन नै हो । महाधिवेशनले नै छान्ने हो । नेकपालाई पुनर्जन्म दिने, हिजो प्राप्त गरेको हैसियतमा लिएर जाने तागत भनेको अब त्यही नयाँ नेतृत्व नै हो ।
सम्बन्धित समाचार
- ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
- आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply