को–को आउलान् साझामा ?
काठमाडौं । सहकारी विभागले पुस मसान्तभित्र साधारणसभा गर्न बाध्यकारी निर्देशन दिएपछि साझा प्रकाशनको साधारणसभा आगामी पुस २५ गतेका निम्ति तोकिएको छ । गएको वैशाखमै साधारणसभा गर्ने मिति तय भए पनि कोरोना महामारीका कारण लकडाउन भएको हुँदा साझाको साधारणसभा स्थगित हुन पुगेको थियो ।
यसपटक भने विभागले जुनसुकै हालतमा पनि पुस मसान्त नकटाउन निर्देशन दिएपछि अधिकांश लेखकहरूको सेयर रहेको सो प्रकाशनको साधारणसभा हुन लागेको हो । यो साधारणसभाले सञ्चालक समितिको अध्यक्ष, एउटा महिलासहित तीनजना सञ्चालक सदस्यहरूसमेत चयन गर्नेछ । यसका साथै, यो साधारणसभाले लेखा सुपरिवेक्षण समितिको चयन पनि गर्नेछ । उक्त समितिमा एकजना संयोजकसहित दुईजना सदस्य रहनेछन् । अहिले साझामा सरकारी प्रतिनिधिबाहेक निर्वाचित सञ्चालकहरू छैनन् । सरकारी प्रतिनिधिहरूमा अर्थ मन्त्रालयका सहसचिव विष्णुराज ढकाल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्मा, सहकारी मन्त्रालयका सहसचिव ख्यामबहादुर थापा, सरकारले तोकेको विज्ञ डा. टेकनारायण पौडेल र राष्ट्रिय सहकारी विकास बोर्डका प्रतिनिधि टाइन्द्रप्रसाद अधिकारी मात्र रहेका छन् । महाप्रबन्धकमा भने होमप्रसाद गौतम रहेका छन् ।
कोभिड–१९ को त्रास कायमै रहेको हुँदा यसपटक हुने साधारणसभामा भरिसक्य सहमति कायम गरेर जाने सल्लाह चलिरहेको छ । तर निर्वाचनमा जाने अवस्था आयो भने पुस २१ देखि २४ गतेसम्म सेयरधनीहरूले मतदान गर्ने व्यवस्था गरिएको छ । एकैदिन मतदान हुँदा भीडभाड हुने भएको हुँदा भीड नहोस् भनेर चार दिन मतदानका लागि तोकिएको हो ।
यसपटक साझाको अध्यक्षमा केही व्यक्तिले इच्छा देखाएका छन् । वामपन्थी खेमाबाट डा. राजेन्द्र सुवेदीको नाम चर्चामा आएको छ । लामो समयसम्म प्राध्यापन पेसामा रहेर अवकाश जीवन बिताइरहेका सुवेदीलाई अध्यक्ष बनाउनुपर्नेमा केही साहित्यकारहरूले नै लबिइङ थालेका छन् । प्रजातान्त्रिक खेमाबाट भने साझाको पूर्वसञ्चालक जीवनचन्द्र कोइरालाको चर्चा चलेको छ । प्रजातान्त्रिक खेमाबाट उनलाई अघि सार्ने सम्भावना देखिएको छ । तर, सहमतिमा गएर कोइरालाले यदि सुवेदीलाई अध्यक्ष छाडिदिने हो भने कोइरालाले लेखा सुपरीवेक्षण समितिको संयोजकमा दाबी गर्ने बुझिएको छ । यसपटकदेखि नै सो समिति गठन गर्न लागिएको हो । साझा पहिले शिक्षा मन्त्रालयअन्तर्गत रहेको हुँदा लेखा समिति थिएन तर अहिले सहकारी मन्त्रालयअन्तर्गत भएको हुँदा सो समिति अनिवार्य रूपमा गठन गर्नुपर्नेछ ।
लामो समयदेखि ऋणमा रहेको साझाको स्थिति पछिल्लो समय भने केही सुधारोन्मुख हुँदै गइरहेको छ । २०७० सालमा सरकारले दिइरहेको व्यवसाय खोसेपछि साझाको अवस्था नाजुक बन्दै गएको थियो । यो वर्षदेखि भने प्लस टुको अनिवार्य अंग्रेजी र नेपाली विषयको काम पनि सरकारले खोसेको छ । केही समययता भने साझाले साहित्यिक पुस्तकहरूको मात्रै बिक्री वितरण गर्दै आइरहेको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply