२९ माघको विरोधसभामा लाखौं उतार्ने तयारी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमविरुद्ध लाखौं जनसहभागितामा काठमाडौंमा विरोध प्रदर्शन गर्ने तयारी अघि बढाएको छ । १४ पुस र ९ माघमा दुई पटक बृहत् प्रदर्शन गरेको नेकपाले विराटनगर, बुटवल र धनगढीमा दसौं हजारको सहभागितामा विरोधसभा सम्पन्न गरेको छ । काठमाडौंको पछिल्लो प्रदर्शनमा लाखभन्दा बढीको सहभागितामा विरोधसभा सम्पन्न भएको थियो । तर, २९ माघमा आयोजना गरिने विरोधसभामा भने कम्तीमा ३ लाख जनसमुदाय उतार्नेगरी नेकपाको केन्द्रीय संघर्ष समितिले तयारी गरेको छ ।
विरोध कार्यक्रमको तयारीलाई तीव्रता दिन नेकपाको केन्द्रीय संघर्ष समितिका तर्फबाट मंगलबारबाट नियमित रुपमा फेस बुक लाइभ सुरु भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले विरोध कार्यक्रमको तयारीबारे पार्टीको आधिकारिक पेज नेपाल कम्युनिस्ट पार्टीको फेसबुक लाइभमार्फत आम जनसमुदायलाई जानकारी गराएका छन् ।
श्रेष्ठले प्रतिगमनविरुद्ध अझ बढी थप संघर्षका कार्यक्रम र संयुक्त संघर्षका लागि विभिन्न पार्टीसँग वार्ता गरिरहेको बताएका छन् । उनले संयुक्त संघर्षको पूर्वअभ्यासको सिलसिलामा प्रतिगमनविरोधी संघर्षका सबै कार्यक्रमसँग समन्वय गर्दै पार्टी अघि बढिरहेको पनि जानकारी दिए । पछिल्लोपटक सञ्चालित नागरिक आन्दोलनको उच्च प्रशंसा गर्दै उनले उनीहरूको आन्दोलनसँग पनि पार्टीले समन्वय गर्दै अघि बढ्ने कोसिस गरिरहेको बताए ।
त्यस्तै, नागरिक आन्दोलनमाथि भएको बर्बर सरकारी दमनको भत्र्सना गर्दै उनले विचार स्वतन्त्रालाई निरंकुशताको डन्डाले कुनै हालतमा कमजोर बनाउन नसक्ने चेतावनी दिएका छन् ।
पछिल्लो आन्दोलनमा जनसहभागिता बढ्दै गएको र त्यसबाट पार्टी उत्साहित भएको बताउँदै उनले २९ माघमा काठमाडौंमा हुने विरोधसभालाई अहिलेसम्मकै ठूलो बनाउनेगरी लाखौं जनसमुदायलाई सकडमा उतार्ने जानकारी दिए । विरोधसभालाई सानदार रूपमा सफल पार्न सक्रिय सहभागिता जनाउन श्रेष्ठले आम जनतालाई अपिल पनि गरे ।
विरोधसभाहरूमा जनसहभागिता बढेको देखेर अत्तालिएको सरकारले राज्यका संवैधानिक अंगहरूलाई समेत दुरुपयोग गर्ने कोसिस गरेको भन्दै उनले निष्पक्ष र स्वतन्त्र ढंगले कार्यसम्पादन गरे संवैधानिक अंग र सरकारी निकायका पदाधिकारी तथा कर्मचारीहरूको सुरक्षाको प्रबन्ध जनताले गर्ने बताए । २९ माघको विरोध प्रदर्शनको तयारीको सिलसिलामा नेकपाले २२ माघमा काठमाडौंमा युवाहरूको मार्च प्रदर्शन गर्ने तयारी गरेको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply